अमेरिकाबाट नेपाली राष्ट्रिय च्यानलसहित पहिलो नेपाली नेटवर्क शुरु

विजय थापा / एचकेनेपाल डट कम –
न्युयोर्क, अमेरिकामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै अमेरिकाको न्युयोर्कबाट पहिलो पटक नेपाली राष्ट्रिय च्यानलका साथमा नेपाली आइपि टिभी बक्स अमेरिकी बजारमा आएको छ।

ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल नेटवर्कको नामबाट यो बक्स बजारमा ल्याएको हो। न्युयोर्कमा मंगलबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल आइपि टिभी बक्सको बारेमा जानकारी दिएको हो।

पत्रकार भेटघाट कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका उपप्रमुख सेवा लम्सालले आइपि टिभी बक्सको उद्घाटन गर्नुभएको थियो। ह्वाइट हिमाल नेटवर्क अमेरिकाको बजारमा बिभिन्न नेपाली राष्ट्रिय च्यानलहरु कान्तिपुर टेलिभिजन, नेपाल टेलिभिजन, ईमेज च्यानलका साथै हिन्दी र अन्तर्राष्ट्रिय च्यानलहरुका साथमा पहिलो नेपाली टेलिभिजन नेटवर्कको रुपमा नेपाली समुदायमा आएको हो।

अमेरिकाका जुनसुकै राज्यमा पनि ह्वाइट हिमाल नेटवर्कको आइपिटीभी बक्स सजिलैसँग उपलब्ध गराउने ब्यबस्था समेत गरिएको छ। यो नेटवर्कबाट च्यानल हेर्नका निम्ति कुनै केबल नचाहिने भएका कारण पनि यो साह्रै नै सजिलो माध्यम भएको थापाको भनाई छ। यसमा युट्युबबाट सिधै आफ्नो रोजाइको भिडियो हेर्न सकिन्छ भने यसबाट फेसबुक, ट्विटर जस्ता बिभिन्न सामाजिक संजालसँग सम्बन्धित वेभसाइटहरु पनि चलाउन सकिन्छ।

यसका अतिरिक्त नेटफिल्क्स तथा अन्य बिभिन्न एप्लिकेशन पनि आइपिटीभी बक्समा उपलब्ध छन् र आवश्यकता अनुसार अन्य एप्लिकेशन पनि डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ। ह्वाइट हिमाल नेटवर्कको आइपिटीभी एन्ड्रोइड एप्लिकेशनमा आधारित भएर डिजाइन गरिएका कारण एन्ड्रोइडले सपोर्ट गर्ने कुनै पनि एन्ड्रोइड एप्लिकेशन पनि सजिलैसँग डाउनलोड गर्न सकिन्छ। यसका अतिरिक्त नेपालबाट प्रशारणमा आइरहेका बिभिन्न रेडियो पनि ह्वाईट हिमाल नेटवर्कमार्फत सुन्न सकिने ब्यवस्था रहेको छ।

ह्वाईट हिमाल नेटवर्कले अमेरिकामा रहेका दर्शकहरुमाझ पुग्नको लागि बिभिन्न राज्यहरुमा चेतनामूलक कार्यक्रमहरु गर्दै अगाडि बढ्ने योजना रहेको जनाइएको छ। सन् २०११ को नोभेम्बरबाट चौबिसै घण्टा प्रशारण शुरु गरेको ह्वाईट हिमाल टेलिभिजन विगतका दिनमा अन्य नेटवर्क मार्फत प्रशारण भइरहेको थियो। तर बढ्दो नेपाली समुदायको आवश्यकतालाई ध्यानमा राखेर पहिलो पटक बैधानिक रुपमा नेपाली राष्ट्रिय च्यानलहरुसहित ह्वाइट हिमाल इन्टरटेन्टमेन्टले आफ्नै नेपाली नेटवर्क ह्वाइट हिमाल नेटवर्क शुरु गरेको हो।

सन् २०११ मा न्युयोर्कमा रहेका व्यवसायी शान खड्का अध्यक्ष रहेको ह्वाईट हिमाल ईन्टरटेन्ट्मेण्ट ईन्कले सञ्चालन गरेको ह्वाईट हिमाल टेलिभिजनले विदेशमा बसेका नेपाली र मातृभुमि बिचको सम्बन्ध प्रगाढ बनाउंदै सूचना र मनोरञ्जनका साथै अमेरिकामा नेपाली नेटवर्कको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ नयां नेटवर्क सञ्चालनमा ल्याएको हो। स्थापना कालदेखि नै ह्वाईट हिमाल टेलिभिजन आफैले पनि नेपालको सूचना र गतिबिधि अमेरिकामा प्रबाह गरिरहेको भएता पनि अमेरिकामा रहेका दर्शकहरुलाई थप सूचना र मनोरञ्जन प्रवाह गर्नुका साथै अमेरिकामा नेपाली च्यानलको प्रबद्र्धन गर्नु पनि नेटवर्कको उद्धेश्य रहेको जनाइएको छ।

पत्रकार सम्मेलनमा अमेरिकामा दैनिक रुपमा बढिरहेको नेपाली भाषीको संख्याका सामु नेपाली च्यानलको आफ्नै नेटवर्क हुँदा नेपालीहरु बिच एकता र सामुहिक आवाजको पनि यस नेटवर्कले प्रतिनिधित्व गर्ने उद्धेश्य लिएको संस्थाका अध्यक्ष शान खड्काले बताए।

नेपालबाट प्रशारण हुने राष्ट्रिय च्यानलहरु सहितको ह्वाईट हिमाल नेटवर्क मार्फत दर्शकहरुले ह्वाईट हिमाल टेलिभिजन, नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजनलगायतका बिभिन्न च्यानलहरु हेर्न पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो। ह्वाईट हिमाल नेटवर्कले नेपालका राष्ट्रिय च्यानलहरुलाई अमेरिकाबाट रोयल्टी तिरेर प्रशारण गर्न लागेको हुनाले नेपालका टेलिभिजनहरुलाई पनि केही हदसम्म आर्थीक टेवा पुग्ने जनाइएको छ। यस अघि कतिपय नेटवर्कले नेपाली च्यानलहरुलाई अनाधिकृत रुपमा अमेरिकामा प्रशारण गरेको भएकोले अनाधिकृत प्रशारण रोक्दै आफूहरुले अधिकृत रुपमा नेपाली च्यानलहरु प्रशारण गर्न लागेको पनि ह्वाईट हिमाल नेटवर्केका प्रवन्ध निर्देशक सूर्य थापाले जानकारी दिए।





Comments

comments

334