एयरपोर्टको चरा धपाउन ५ जना शिकारी

काठमाडौं, १५ पुस। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश आसपास ३९ प्रजातिका चरा घुम्छन्। यीमध्ये कालो चिल धेरैपटक विमानसँग ठोक्किएको छ। यस्तै एउटा कालो चिल जेट एयरवेजमा सोमबार ठोक्कियो। गोदावरी र इमाडोलको आकाशमा आइपुग्दा जहाजमा चिल ठोक्किएको थियो।

विमानस्थलको घाँसेमैदानमा भएका गँड्यौला, भ्यागुतालगायत अन्य किराफट्यांग्रा चराका आहारा हुन्। विमानस्थलमा खटिएका सिकारीका अनुसार मनोहरा र बागमतीमा थुपारिएको फोहोरमा भेटिने किरा खान आउने चरा पनि विमानस्थलको फन्को मारेर जान्छन्। विमानस्थल प्रशासनले गत वर्ष एकै दिन सय केजीभन्दा बढी गँड्यौला घाँसैमैदानबाट निकालेको थियो।

चराविज्ञ डा. हेमसागर बरालका अनुसार गँड्यौला र मासुजन्य फोहोर चिलले असाध्यै मन पराउँछ। विमानस्थल वरिपरि भएका सेकुवा घरसमेत चिलका आकर्षण हुन्। मान्छेसँग नजिकिन सक्ने कालो चिल नेपालको रैथाने चरा हो।

विमानस्थल सुरक्षाविज्ञसमेत रहेका अपरेसन विभाग प्रमुख देवचन्द्रलाल कर्णका अनुसार आफैं ठोक्किन आउने चराबाहेक विमानको इन्जिनमा भएको भ्याकुमले नजिकको वस्तु तान्ने क्रममा पनि कहिलेकाहीं चरा ठोक्किन पुग्छन्।

एक अध्ययनअनुसार उडिरहेको विमानमा एक फिटको दूरीबाट तीन किलोको चील ठोक्किए एक हजार आठ सय किलोको घन बजारेजस्तो हुन्छ। जति नजिकबाट ठोकिन्छ त्यति धेरै असर पर्छ, कर्णले भने।

वरिपरिको जंगल तथा कृषियोग्य जमिनका कारण पनि चरासहित स्याल र कुकुर विमानस्थलभित्र पुग्छन्। पछिल्लो समयमा स्याल र कुकुरको समस्या भने छैन।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको एक अध्ययनअनुसार विमानस्थल आसपास पाइने ३९ प्रजातिका चरामध्ये पाँच ठूला आकारका, २४ साना र १० मझौला आकारका छन्। विमानका लागि ठूला प्रजातिका चरा सबैभन्दा खतरा हुन्छन्।

विमानस्थल आसपास र आकाशमा घुमिरहने कालो चिल धपाउँदा पनि भाग्दैन। विमानस्थलमा पाँच वर्ष सिकारी टोलीको नेतृत्व गरेका कुमार बिष्टले भने, चिल धपाउँदा पनि भाग्न मान्दैन। सरकारले विमानस्थलका चरा र अन्य जन्तु धपाउन पाँचजना सिकारी खटाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ।

नागरिक उड्डयन प्राधिकरणको सेफ्टी मेजर डिपार्टमेन्टका अनुसार त्रिभुवन विमानस्थलमा सबैभन्दा पहिले सन् १९९० मा चरा विमानसँग ठोक्किएको थियो। त्यस्तै सन् १९९२ मा १२, १९९४ मा ६, १९९५ मा सात, १९९९ मा १४, २००४ मा आठ, २००५ मा सात, २००६ मा तीन, २००८ मा चार र २०१० मा पाँचवटा यस्ता घटना भए पनि मानवीय क्षति भएको छैन।





Comments

comments

3504