माघ १ गते तारेभिर महोत्सव सम्पन्न (फोटो फिचर)

मोहन गौतम ‘सफल’ / एचकेनेपाल डट कम –
काठमाडौं उपत्यकाको चार उच्चशिखरहरुमध्ये शिवपुरीको उच्चशिखर तारेभिर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सरोकारवाला र स्थानीय जुटेका छन्। तारेभिर क्षेत्रलाई चट्टान आरोहण केन्द्रको रुपमा विकास गर्न र पर्यटनका विकास मार्फत सो क्षेत्रको विकास गर्न माघ १ गते तारेभिर महोत्सव सम्पन्न गरिएको छ।

प्रकृतिको मनोरम सौन्दर्यका साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने यो स्थान काठमाडौं जिल्लाको उत्तरी क्षेत्रमा पर्छ। यो स्थल धार्मिक भनाइ्अनुसार महादेवको तपस्याभूमि हो र वनपैदावारका दृष्टिले अत्यन्त सुलभ स्थान हो। काठमाडौं उपत्यकाको धार्मिक धरोहरको महत्व बोकेको वाग्मति नदी यसै क्षेत्रको उपजको रुपमा रहेको छ। प्राकृतिक हरियाली, कन्चन तथा शुद्ध पानी, सिमसार क्षेत्रको अत्यन्त ठूलो भण्डार रहेको यो स्थानमा गजधम्म गणेश झैं दक्षिणी पहारमा तारेभीर चन्दागिरी र फुल्चोकीलाई जिस्क्याइजिस्क्याइ उभिरहेको छ। तर पनि मानव सभ्यताको विकासमा यत्रो योगदान गरेको शिवपुरी क्षेत्र र यहाँ अवस्थित तारेभीरलाई मानव समुदायका योजनाकार तथा विकासविद्हरुले यसलाई विश्व वजारमा पुर्याउन त सकेका थिएनन्, र यसको महत्वको विशेषतालाई उन्नतिका लागि पूर्वाधार विकास गर्न सकिरहेको थिएन।

यसको काखमा अवस्थित गोकर्णेश्वर क्षेत्र, उत्तरगया, हरियाली सुन्दरीजल क्षेत्र, सुन्दरीमाई मन्दिर, बूढानिकण्ठ नाारायण मन्दिर, तथा शहीदको आत्मा र आस्थाको केन्द्रका रुपमा विकास गर्न लागिएको राष्ट्र्यि शहीद तथा शान्ति पार्क(स्मारक) यज्ञडोल तारेभीरको अग्लाइको छहारीमा सौन्दर्य छरेर बसिरहेको तारेभिर क्षेत्रलाई विकास गरी पर्यटनको गन्तब्यका रुपमा विकास गर्न सरोकारवालाहरु एकजुट भएर लागेका छन्। भर्खरै काठमाडौं ३ का सभासद् रामेश्वर फुयालको नेतृत्वमा र जिविस लगायत सरकारी निकाय र जनताको जनश्रमदानमा सो ठाउमा मोटरबाटो पुर्याइएको छ। पर्यटनको विकासका लागि सो क्षेत्रलाई चिनाउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको थियो।

महोत्सवको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले पर्यटन मार्फत देशको द्रुत आर्थिक विकास गर्नका लागि महोत्सव कोसेढुंगा हुने बताएका छन्। जनताहरुको आर्थिक स्थितिमा सुधार लयाउन सो महोत्सवले भूमिका खेल्ने उनले बताए। मन्त्री अधिकारीले सरकारले यस्ता ठाउँहरुको पहिचान र स्थलगत निरिक्षण गरी विकास गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएका छन्।

काठमाडौं ३ का सभासद् रामेश्वर फुयालले तारेभिरको अथाह सम्भावनालाई उजागर गर्न महोत्सवको आयोजना गरिएको बताए। पर्यटन मार्फत जनताको आर्थिक विकास गर्नका लागि महोत्सवले उल्लेखनीय योगदान पुर्याएकोले आर्थिक स्थिति कमजोर भएका सो क्षेत्रका जनताको आर्थिक अवस्थामा अव परिवर्तन आउने उनले बताए। “तारेभिरमा सडक नपुर्याई माघे संक्रान्ति नमान्ने उद्घोष गरिएको थियो”– उनले भने “निरन्तरको जनताको जनश्रमदान, सांसद विकास कोष, स्थानीय जनताको चन्द र जिविसको सहयोगमा सडक स्तरोन्नती गरेर महोत्सव मनाउन सफल भएका छौं।” माघ ८ मा नै जनताको परिवर्तनलाई संस्थागत गर्नका लागि संविधान जारी गरिनु पर्ने बताए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल, काठमाडौं जिल्लाका स्थाननीय विकास अधिकारी तिर्थराज भट्टराई, राजनीतिक दलका प्रतिनिधीहरु, पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधीहरुले पर्यटन मार्फत आर्थिक विकास गर्ने कार्यको थालनी थालनी भएकोले आआफ्नो ठाउँबाट यसलाई सफल बनाउन भूमिका खेल्ने प्रतिद्धता ब्यक्त गरेका छन्। महोत्सवमा तामाङ समुदायको झाँक्री नाच, नेवारी समुदायको झाँकी, स्थानीय भेषभूषा र उत्पादनको प्रदर्शनी गरिएको छ।

थप तस्वीरहरू यहाँ छन्





Comments

comments

3740