नेकपामा ओलीको प्रतीक्षा

काठमाडौं,मंसिर ८ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान हुने कि थप चर्कने भन्ने विषय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले ल्याउने लिखित प्रस्तावमा निर्भर पर्ने भएको छ।

ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावका विरुद्ध लिखितरुपमै प्रस्ताव ल्याउने गृहकार्य अगाडि बढाएका छन् । मंसिर ३ मा बसेको सचिवालय बैठकमा १० दिन समय माग गरेपछि पार्टीको सचिवालय बैठक यही मंसिर १३ गते बस्ने भएको छ ।

सचिवालय बैठक बस्नुअघि नै सहमति निर्माण गर्न पार्टीभित्र दोस्रो तहका नेताहरु दौडधूपमा जुटेका छन् । तर अध्यक्ष ओली र प्रचण्ड पक्ष भने आ–आफ्नो रणनीति बनाउन जुटेका छन् । सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टी एकता गर्दा भएका विगतका सहमति भंग भएको अभिव्यक्ति दिएपछि पार्टी एकता नै गम्भीर संकटमा परेको थियो ।

फाइल फोटो

अध्यक्ष ओलीले आफूमाथि लगाइएको लिखित आरोप पुष्टि नभए प्रचण्डले अध्यक्ष पद छोड्नुपर्ने चेतावनी दिइसकेका छन् । सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावको जवाफ नदिने अडान लिए पनि अन्तिममा सचिवालय बैठकमा सहभागी भएर ओलीले लिखितरुपमा आफूले पनि प्रस्ताव ल्याउने सचिवालय बैठकमा जानकारी गराएका थिए।

ओली पक्षले सचिवालय बैठकमा प्रचण्डले पेस गरेको प्रस्ताव फिर्ता लिए मात्र सहमति कायम हुन सक्ने चेतावनी दिँदै आएको छ । यता प्रचण्ड र वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सचिवालय बैठकमा एक मतका साथ पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता हुन नसक्ने अडान राख्दै आएका छन् ।

सचिवालय बैठक बस्नुअघि नै सहमति निर्माण गर्नुपर्ने पक्षमा नेताहरु देखिए पनि दुवै पक्षको अडानका कारण सहमति त्यति सहज भने नदेखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ।





Comments

comments

39403