भूकम्पले काठमाडौं ३ मिटर दक्षिणतर्फ सरेको अनुमान

सिड्नी, वैशाख १५ – गएको शनिबार र आइतबार आएका भुईंचालोका कारण नेपालको राजधानी काठमाडौँ ३ मिटर दक्षिणतिर सरेको अनुमान वैज्ञानिकहले गरेका छन्।

भुईचालोका कारण पर्ने प्रभावका कारण काठमाडौंको जमिन दक्षिणतिर सरेपनि यसबाट आत्तिनु पर्दैन ।

यो भूकम्पबाट विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाईमा कुनै असर नपरेको विज्ञहरुको भनाई छ । गएको शनिबार नेपालमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । हिमालयन देश नेपालमा गएको सो भूकम्पका कारण हिमाली क्षेत्रमा पर्ने असरका बारेमा पनि विभिन्न अनुमानहरु गरिएको छ।

क्याम्ब्रिज विश्वविद्यालयका भू गर्भसम्बन्धी विज्ञहरुले काठमाडौंको जमिन करिब तीन मिटर (दश फिट) दक्षिणतर्फ सरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् । काठमाडौं र नेपालका विभिन्न स्थानमा राखिएका प्रारम्भिक भूकम्पमापक आवाजसहितका तरङ्गहरुले रेकर्ड गरेका तथ्याङ्कहरुको आधारमा गरिएको अध्ययनमा यस्तो देखिएको क्याम्ब्रिज विश्वविद्यालयका विज्ञ जेम्स ज्याक्सनले दावी गर्नुभएको छ।

ती मेसिनहरुले मापन गरेका तथ्यका आधारमा हेर्दा काठमाडौंको यसअघिको बनावटभन्दा करिब तीन मिटर काठमाडौंको जमिन दक्षिणतर्फ सरेको हुनसक्ने देखिएको उहाँको भनाई छ।

उहाँको यो अनुमान यसअघि आएको अर्को एक तथ्यसँग नै मिल्दोजुल्दो रहेको छ । यसअघि पनि गरिएको एक अर्को अनुसन्धानमा काठमाडौंको जमिन सरेको हुनसक्ने अनुमान गरिएको थियो।

यसअघि पनि अष्ट्रेलियाको अडेलिड विश्वविद्यालयले गरेको अनुसन्धानमा यही तथ्य बाहिर आएको थियो । यो विश्वविद्यालयको भौतिक विज्ञान विभागका प्रमुख स्यान्डी स्टेसीले गरेको अनुसन्धानमा पनि सोही तथ्य बाहिर आएको थियो।

हिमालयन क्षेत्रमा जाने गरेका यस्ता भूकम्पले विशेषतः उत्तरी प्लेटमा ठोकिई प्रभावित पार्ने गरेको छ र यसका कारण त्यस भूभागका पत्रहरु सरेर माथिल्लो तहमा चिरा पार्ने गरेको पनि पाइएको छ।

यस्ता पत्र या चिराहरुले हिमालयन क्षेत्रको उत्तरतर्फ घुमिरहेको चट्टानलाई प्रभावमा पार्ने गरेको पहिलेका अनुभवहरु छ । यो कारणले जमिनको यसअघिको बनावटमा पनि फरक आउन सक्छ।

तथ्यलाई बेलायतको दुरहाम विश्वविद्यालयको डिपार्टमेन्ट अफ अर्थ साइन्स (पृथ्वी अध्ययन विज्ञान विभाग)का प्राध्यापक मार्क अलेनले पनि स्वीकार्नुहुन्छ । उहाँले भूकम्पका कारण खासगरी काठमाडौंको चट्टान करिब १० फिट पर सरेको हुनसक्ने र त्यस चट्टान दक्षिणतर्फ सरेको हुनसक्ने अनुमान गर्नुभयो।

उहाँले भन्नुभएको छ सामान्य रुपमा यो भन्न सकिन्छ कि यस भूकम्पपछि काठमाडौंको केही जमिनले ठाउँ छोडेको छ र त्यो बढीमा तीन मिटर हुनसक्छ । यस भूकम्पको गहिराई कम्तीमा पनि १५ किलोमीटर हो र यसपछिको मापनका आधारमा अध्ययन गर्दा यसले तीन मिटर स्थान छोडेको हुनसक्ने उहाँको भनाई छ।

पहिलो भुईंचालो गएको ७२ घन्टासम्म पनि काठमाडौंमा सानाठूलागरी करिब एक सय बढी पटकसम्म झड्का आएका छन् । सोही कारण पनि यसरी जमिनले स्थान छोडेको अनुमान गरिएको हो।
– रासस/एएफपीको आधारमा





Comments

comments

Leave a Reply

6165