भूकम्पपीडितलाई यूएईबाट केही उल्लेखनीय सहयोग तथा राहतहरु

आरपी सहयात्री / एचकेनेपाल डट कम-
यूएई, भूकम्पले अस्तव्यस्त बनेको नेपाल र नेपाली जनताको सहयोगका लागि यूएईको सरकारदेखि लिएर यहाँ कार्यरत विभिन्न कम्पनी, विदेशी नागरिक र नेपालीहरुले पनि करोडौं रकम बराबरको सहयोग गरेका छन्।

गत वैशाख १२ मा आएको भूकम्पको पहिलो कम्पन र त्यसले निम्त्याएको क्षतिमा मल्हम लगाउन यहाँको सरकारले विभिन्न औषधी, खाद्यान्य, लत्ताकपडा सहित ८८ जना तालिमप्राप्त उद्धारटोली तत्कालै पठाएको थियो भने यहाँको उमन्स एसोसिएसनबाट ५ मिलियन दिराम्सको सहयोगको प्रतिबद्धता भएको थियो।

त्यसरी नै यूएईमा रहेका विभिन्न प्रतिष्ठित कम्पनीहरुले नेपालको पीडामा सहयोग गरेका छन्। विदेशी व्यक्तिहरुले पनि व्यक्तिगत तथा संस्थागत रुपमा आर्थिक तथा जिन्सी सामग्री प्रदान गरेर सहयोग गरेको समाचार प्राप्त भएको छ।

सुपर मार्केटको दुनियाँमा प्रसिद्ध ‘लुलु हाइपर मार्केट ग्रुप’ले २ करोड नेपाली रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दूतावासमार्फत् जम्मा गरेको छ। यो नै अहिलेसम्मको यूएईको निजी व्यावसायिक कम्पनीबाट नेपाललाई पठाइएको ठूलो राशिको आर्थिक सहयोग हो। त्यसरी नै युएईको चर्चित तथा सबैभन्दा धेरै शाखा भएको मनी एक्स्चेन्ज कम्पनी ‘युएई एक्स्चेन्ज’ले १ करोड रुपैयाँ बराबर नगद प्रधानमन्त्री राहत कोÈमा जम्मा गरेको छ। यूएई एक्सचेन्जलगायत धेरै मनी ट्रान्सफर कम्पनीहरुले नेपाल पठाइने रेमिट्यान्समा करिब एक महिनासम्ममा लागि सर्भिस चार्ज निःशुल्क गरेर सबै नेपालीहरुलाई सहयोग गरेका छन्।

युएईको ख्यातिप्राप्त लाइफ लाइन हस्पिटल ग्रुप कम्पनीले ६० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी सहयोग प्रदान गरेको छ भने ४० लाख रुपैयाँ बराबरको औषधी पनि पठाएको एनआरएन, यूएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिएका छन्।

राजनीतिक संगठनहरुबाट पनि आर्थिक सहयोग भएको जानकारी प्राप्त भएको छ। एमालेको जनवर्गीय संगठन नेपाल प्रवासी मञ्चले करिब २ लाख बाउन्न हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ भने एमाओवादी र वैद्य माओवादीहरुले पनि सहयोग संकलन गरिरहेका छन्।

एमाओवादीको जनवर्गीय संगठन नेपाली जनप्रगतिशील मञ्च, रस अल खेमा क्षेत्रीय समितिले गोर्खाको आरुचनौटे गाविसका ७०÷८० घर रहेको एक दलित बस्तीमा १ लाख ७० हजार रुपैयाँ बराबरको राहत वितरण गर्ने मञ्चका सदस्य धनकुमार नेपालीले बताएका छन्।

विश्वको सबैभन्दा ठूलो सेरामिक्स कम्पनी आरएके सेरामिक्सले पनि रेड क्रसेन्ट मार्फत् १ लाख ४० हजार दिराम्स रकम सहयोग गरेको छ। नेपाली जनप्रगतिशील मञ्च, रासअल खेमाका अध्यक्ष टेकनाथ मिश्रका अनुसार झन्डै ८ हजार कामदार रहेको उक्त कम्पनीमा ३ सय जति नेपालीहरु कार्यरत छन्। उक्त कम्पनीमा कार्यरत सबैले १ दिन बराबरको तलव भूकम्प पीडितको सहयोगार्थ प्रदान गरेको पनि मिश्रले बताए।

राहत वितरणमा मनकारी दाताहरुको नाम उल्लेख गर्दा छुटाउनु नहुने अर्को नाम हो युएईका नेपाली ब्यावसायी रामभुवन चौधरी। उनले आफ्नो रेष्टुरेण्टको एक साताको सम्पूर्ण आम्दामी भूकम्प पीडितका लागि वितरण गर्ने बताएका थिए। व्यक्तिगत रुपमा करिब ५० लाख वा सोभन्दा बढीको राहत बाँड्ने उद्देश्य लिएर नेपाल पुगेका चौधरीले सिन्धुपाल्चोकको फुल्पिङकट्टी गाविसको १, २ र ३ वडामा १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिसकेका छन्। तर, धेरैतिरबाट राहत बाँड्नका लागि दबाब आएका कारण बाँकी राहत वितरण स्थानीय प्रशासनको रहोबरमा बाँड्ने भन्दै तत्कालका लागि राहत वितरण कार्य स्थगित गरेको जनाएका छन्।

चौधरीले विपतका बेला आफ्नो कर्तव्य सम्झेर आफ्नो कमाइको केही अंश स्वेच्छाले बाँड्न खोज्दा पनि केही अनर्गल प्रचार गरिएकोमा दुःख प्रकट गरेका छन्। उनले नेपालका केही मिडियाहरुले ठूलो राशिको राहत घोषणा गरेका कारण अनावश्यक टर्चर दिएको बताएका छन्। आफ्नो राहत वितरण कार्य तत्काल स्थगित भए पनि क्षतविक्षत भएका सार्वजनिक विद्यालय, अनाथालय र वृद्धाश्रमहरुको मर्मत तथा पुनःनिर्माणमा बाँकी सहयोग केन्द्रित गर्ने बताएका छन्।

युएईको जेबल अलीमा रहेको जाङ्खको ट्रेडिङले भूकम्प पीडितहरुका लागि भनेर एनआरएन मार्फत् १० हजार ५ सय दिराम्स नगद सहयोग प्रदान गरेको छ।

यसैगरी भारत मुम्बईकी एक १३ वर्षीया फिरदुस फारुकी नामकी बालिका जो यूएईमा कक्षा ९ मा अध्ययनरत छिन्, उनले आफ्नो खाजाको पैसाबाट बचाएर जम्मा गरेको १ हजार ३ सय दिराम्स करिब ३६ हजार नेपाली रुपैयाँ नेपाली दूतावासमा गएर बुझाएको समाचार गल्फ टाइम्सले प्रकाशित गरेको छ। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले बताएका छन्।

भूकम्पको कारण आफ्नी श्रीमती, बहिनी, १ दिन अघि जन्मिएको छोरा गुमाएका यूएईमा कार्यरत सिन्धुलीका श्याम कँडेललाई मिडल इस्ट सेक्युरिटी गार्डमा कार्यरत नेपालीहरुले करिब २ लाख नेपाली रुपैयाँ सहयोग गरेको जानकारी सहयोगी नवराज ढकालले दिएका छन्।

सुदूरपश्चिमाञ्चल समाज, यूएईले भूकम्प प्रभावितको राहतका लागि करिब साढे पाँच लाख रुपैयाँ सहयोग गरेको छ। समाजले भूकम्पका कारण घरबारविहीन भएकी यूएईमा कार्यरत सिन्धुपाल्चोक मानेश्वर गाउँकी मीना भण्डारीलाई करिब ७४ हजार नेपाली रुपैयाको आर्थिक सहयोग गरेको छ। समाजले करिब ४ लाख ८० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको महासचिव मानबहादुर केसी मुस्कानले जानकारी गराएका छन्।

त्यसरी नै एनएनको एक कम्पनीमा कार्यरत सिन्धुपाल्चोक बकनपुरकी सुन्दरीमाया तामाङलाई सहकर्मी तथा कम्पनीको तर्फबाट करिब ५५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। भूकम्पका कारण उनले आफ्नी आमासहित ७ जना आफन्त गुमाउनुपरेको सहयोगी हिरा बुढाथोकीले बताए।

रास अल खेमाको एक हाइयर कलेज अफ टेक्नोलाजीमा कार्यरत युरोपियन शिक्षकहरुले नेपालका विद्यालयहरुको पुर्ननिर्माणमा सहयोग गर्ने उद्देश्यले एक च्यारिटी कार्यक्रममार्फत् करिब ३५ हजार दिराम संकलन गरेको सहभागी ऋषिराम ढकालले जानकारी दिएका छन्। नेपाल पत्रकार महासंघ यूएई शाखाले भूकम्पपीडितहरुको राहतका लागि ५० हजार रुपैयाँ पठाउने तयारी गरिरहेको कोषाध्यक्ष मेघराज सापकोटाले जानकारी दिएका छन्।

त्यसरी नै आदिवासी जनजाति महासंघले पनि नगदका साथै जिन्सी राहत सामग्री संकलन गरेको छ। जिन्सी सामग्री नेपाल पठाइसकेको महासंघले आर्थिक प्रतिवेदन आगामी साता सार्वजनिक गर्ने अध्यक्ष डी.आर. गुरुङले बताएका छन्।

हेल्प राइज फोरम, युएईले सिन्धुपाल्चोक गएर नै राहत वितरण गरेको छ। विभिन्न जिल्लास्तरीय समाजहरुले समेत आफ्नै तरिकाले नगद तथा राहत संकलन गरिरहेका छन्। तर सबैले राहत संकलनको विवरण औपचारिक रुपमा सार्वजनिक गरेका छैनन्।

भूकम्पकै कारण घरमा बस्न नसकेकाहरुका लागि उल्लेख्य मात्रामा त्रिपाल र ब्लाङ्केट पठाइएको एनआरएनका यूवा संयोजक प्रकाश पौडेलले बताएका छन्। नेपाल एम्बेसीको ग्राउन्ड फ्लोरमा रहेको एक कोठामा ड्राई फुड, लत्ताकपडा, त्रिपाल, औषधी विभिन्न व्यक्ति तथा संघसंस्थाले जम्मा गरी रेड क्रसेन्ट र एयर अरेबियामार्फत् करिब ४ सय टन राहत सामग्री पठाइएको छ।

राहत सामग्री पठाउनेमा दुबई झनै सक्रिय देखिएको छ। दुबई स्थित नमस्ते ट्राभल्सका प्रोपाइटर एकेन्द्रबहादुर थापाले आफ्नो अफिसको एउटा कोठा राहत संकलनको लागि छुट्याएका थिए। दिनहूँ जसो विदेशी र स्वदेशी नागरिकहरुबाट स्वस्फुर्त आउने गरेका राहतका सामग्रीहरुलाई रेड क्रसेन्टलाई जिम्मा लगाउने गरेको उनले बताए।

त्यसरी नै बरदुबईमै रहेको सिल्भर स्पुन नेपाली रेष्टुरेण्ट, ग्लोबल कन्सल्टेन्सी र फिस्टेल ट्राभल्सले पनि राहत सामग्री स्टोर गर्न तथा ढुवानी गर्नमा विषेश योगदान गरेका थिए। त्यहाँबाट करिब १५ ट्रक राहत सामग्री रेड क्रसेन्टलाई बुझाएको नेपाली समाजका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन्। दुबई बिज्नेस काउन्सिलले पनि उल्लेख्य राहत सामग्री संकलन गरेको बताएको छ। व्यक्तिगत रुपमा धेरै नेपाली तथा विदेशीहरुले भूकम्पपीडितहरुका लागि आर्थिक तथा जिन्सी सहयोग गरे पनि सबैको एकमुष्ट विवरण कसैसँग रहेको छैन। व्यक्तिगत रुपमा सहयोग गर्नेहरुमा सन्तोष प्रसाई, प्रकाश पौडेल, दीपा पाण्डे, चन्द्रप्रकाश सापकोटा, भरत राना मगर, दीपकराज पौडेल, दीपा पाण्डे, ज्ञानेन्द्र कार्की, एकेन्द्रबहादुर थापा, विदुर राउत अग्रपंक्तिमा पर्छन्। त्यसका अलवा धेरै नेपालीहरुले स्वतस्फूर्त सहयोग गरेका छन्।





Comments

comments

Leave a Reply

6633