यूएईको अलऐनमा प्रवासी नेपालीहरुले तीज मनाउने

उत्तम अधिकारी / एचकेनेपाल डट कम-
यूएई। तीजको रौनकताले नेपाली नारीहरुलाई रंगाईरहेको बेला यूएईको अलऐनमा रहेका प्रवासी नेपालीहरुले पनि यस पर्वलाई बिशेष किसिमले मनाउने भएका छन्।

यहि अगस्त २९, शुक्रवारका दिन अलऐनको फुड वर्ल्ड रेस्टुरेन्टमा एक बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै अलऐनवासी नेपाली नारीहरु तीजका गीतहरुमा कम्मर मर्काइ मर्काइ नाच्ने तरखरमा रहेका छन्। प्रवासी नेपाली मंच यूएईको अलऐन क्षेत्रीय समितीको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा यूएईमा रहेर कलाकारिता गर्दै आइरहेका डेढ दर्जन नेपाली कलाकारहरुको बिभिन्न किसिमको मनोरन्जनात्मक प्रस्तुति रहने बुझिएको छ।

तीज भनेकै नेपाली नारीहरुले सबैखाले पीर, व्यथा र समस्यालाई भुलेर खुशियाली मनाउने पर्व भएकाले उक्त कार्यक्रम पूर्ण रुपमा मनोरञ्जनात्मक हुने बताउछन आयोजक कमिटीका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक लक्ष्मण अधिकारी। कार्यक्रममा सहभागी हुन अहिलेदेखि नै सारी चोलो ठिक्क पारेर बसेकी सिन्धुपाल्चोक स्थायी बसोवास भएकी पार्वती तामांगले आफू बसेकै शहरमा तीज कार्यक्रम आयोजना हुन लागेकोमा खुशी व्यक्त गरिन्। उनका अनुसार बिदेशमा रहेर पनि यसरी नेपाली पर्वहरुमा सरिक भएर धेरै नेपालीहरुसंग घुलमिल हुन पाउँदा पारिवारिक बिछोडको पीडा केही कम हुने गर्दछ।

मञ्चका तर्फबाट उक्त क्षेत्रका इन्चार्ज इन्द्र बहादुर घिमिरेले कार्यक्रममा उपस्थित महिला दिदिबहिनीहरुलाई स्टेजमै पुगेर तीजका गीतहरुमा छमछमी नाच्ने ब्यबस्था मिलाईएको जानकारी गराएका छन्। अलऐनमा ठूलो संख्यामा नेपाली महिलाहरु कार्यरत रहेका र उनीहरुलाई तीजमा रम्ने, नाच्ने र खुशी हुने मौका प्रदान गर्नु एकमात्र उद्देश्य रहेकाले कार्यक्रम पूर्ण रुपमा मनोरञ्जनात्मकतातिर मात्रै केन्द्रित रहने उनको भनाइ छ।

आयोजकका अनुसार कार्यक्रम साँझ ५ बजेबाट शुरु हुनेछ। मंचको अलऐन क्षेत्रीय समितीले गत बर्ष पनि भब्य रुपमा तीज कार्यक्रम आयोजना गरेको थियो। धार्मिक, साँस्कृतिक र मौलिक पर्वको रुपमा रहेको यस पर्वलाई उक्त क्षेत्रले प्रत्येक बर्ष मनाउने जनाएको छ।





Comments

comments

1071