विजया थापा –
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित हिन्दु-बौद्ध मन्दिरमा यस वर्ष पनि परम्परा अनुसार गाई पूजा सम्पन्न भएको छ। गत वर्षको जस्तै यस पटक पनि बाल्टिमोर क्षेत्रका नेपाली समुदायले नेपालमा जस्तै गरी उत्साहपूर्वक गाई पूजा गरेका छन्। मन्दिर व्यवस्थापनले उपलब्ध गराएका दुईवटा बाछीको पूजा गरी यो धार्मिक कार्यक्रम सम्पन्न गरिएको छ।
गत वर्ष अमेरिकामा पहिलो पटक गाईलाई प्रत्यक्ष रूपमा ल्याएर पूजा अर्चना गरी गाई तिहार मनाइएको थियो। त्यस अवसरमा उपस्थित धेरै नेपाली समुदायका सदस्यहरूले नेपाल छोडेको धेरै वर्षपछि गाई पूजा गर्न र गाई तिहार मनाउन पाउँदा आफूहरू अत्यन्त खुशी भएको बताउँदै आयोजकहरूलाई धन्यवाद दिएका थिए।
प्रत्यक्ष गाई पूजा गर्दा दोस्रो पुस्ताका बालबालिकाहरु खुसी भएका छन्। बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरको प्राङ्गणमा दुई वटा कालो रङका बाछी ल्याइएको थियो। गाई पूजा गराउने जिम्मा हिन्दु बुद्ध मन्दिर तथा सन् २०१२ मा स्थापित पर्वत समाज अमेरिकाले लिएका थिए। यस वर्ष पनि पर्वत समाजले नै गाई ल्याएको हो।
पर्वत समाजका अध्यक्ष रबिन शर्माले नेपाली समुदायको लागि दोस्रो वर्ष पनि गाईको प्रबन्ध गर्न पाएकोमा हर्ष व्यक्त गर्दै यसलाई निरन्तरता दिने बताए। दोस्रो पुस्ताले नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारमा गाई पूजा गरिने र यसको महत्व पनि बुझून् भन्ने उद्देश्यले गाई ल्याइएको शर्माले बताए।
नोभेम्बर २ शनिबारका दिन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म गाई पूजा गरियो। हिन्दु बुद्ध मन्दिरका स्वयंसेवक तरुण पौडेलले अमेरिकामा सम्भवतः पहिलो पटक गत वर्षदेखि सुरु गरिएको गाई पूजालाई यस वर्ष पनि निरन्तरता दिन सकिएकोमा नेपाली समुदायले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएको बताए।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।
नेपालमा घरमा गाई पाल्नेहरूले घरमै र नपाल्नेहरूले गौशालामा गएर गाईको पूजाआजा गर्ने गर्छन्। गाईको पूजा गरी गाईलाई मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
गाईपूजा गरी श्रावण शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहेको छ।
गाई हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो। गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गहुँत, गोबर आदि वस्तु प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन्।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले गर्ने प्रत्येक धार्मिक कर्ममा गाईदान गर्ने परम्परा रहेको छ। यसले गाईको महत्त्व र पवित्रतालाई झल्काउँछ। नेपालमा गाईलाई राष्ट्रिय जनावरको मान्यता दिइएको छ र गाईलाई विशेष सम्मानका साथ हेरिन्छ।