हङकङमा भव्यताका साथ मनाइयो चासोक तङनाम..

आम्भु जेठा –
हङकङ । हिउँदको चिसो लाग्दै सँगै लेक अनि हिमाली क्षेत्रबाट चरा-चुरुङ्गी, जीवजन्तुहरू उँधो बेँसी तराई झर्ने समय सुरु हुन्छ। खासगरी मंसिर महिनामा रातको जून छर्लङ्गै उज्यालो हुँदै जान्छ, त्यही समय गाउँघर पाखा जङ्गलतिर पैँयू फूल्ने गर्दछ, जसलाई लिम्बू भाषामा फुन्जिङवा फेक्ते भन्ने गरिन्छ।

पैँयु फुलेको समय नयाँ अन्नबाली पाकेर भित्र्याउने बेला भयो भनी हाम्रा पुर्खाहरू हर्षोल्लासका साथ खुसीले गदगद हुने गर्थे रे। टाढा-टाढाबाट खुसी साटासाट गर्न आउनेहरू नाच्दै गाउँदै मंसिर पूर्णिमाको जुनेली रात छर्लङ्ग पार्थे रे। ऋतु परिवर्तनसँगै फुलेको फूललाई संकेत मानी पुर्खाहरूले आफ्नो विशेष चाडहरू मनाउने गरेको पाइन्छ।

लिम्बु मुन्धुम अनुसार सावायेथाङ (ढुङ्गे युगको अन्तिम समय) र चेली सिवेरा याक्थुङमाको ऐतिहासिक कथा आउँछ। जसअनुसार सावायेथाङका सन्तानहरूले अन्नबाली पाकेपछि विधिपूर्वक तागेरा निङवाफुमाङसँग आशीर्वाद माग्दै लासो फेःमा (देवताको लागि केराको पात ओछ्याई) तकःसोक, थिःसोक, फाकःसोक गरेर खाएपछि मात्र शाखा सन्तानमा राम्रो भएको मुन्धुम छ। मानव विज्ञानमा ढुङ्गे युगको अन्त्यसँगै कृषि युगमा प्रवेश गरेसँगै हाम्रा पुर्खाहरूले संस्कार, संस्कृति र सभ्यताको विकास गर्दै आएको मुन्धुमले पुष्टि गर्दछ।

मुन्धुम अनुसार फुन्जिङबा अर्थात् पैँयु फुल्दा “चासोक तङनाम” मनाइन्छ भने कक्फेक्वा (चाँप) फुल्दा “कक्फेक्वा तङनाम” (माघे सङ्क्रान्ति) मान्ने गरिन्छ। त्यस्तै ‘आरु’ फुल्दा खिवेक्वा यक्वा तङनाम (उभौली पर्व), सिमी फुलेको समय “सिसेक्पा तङनाम” र थपरा (सयपत्री) फूल फुलेको समय बलिहाङ तङनाम (तिहार) मनाइन्छ। त्यसैले फूल फुलेको समयको खास महत्त्व यो समुदायमा हुने गरेको छ।

पैँयु (फुन्जिङबा) फुलेको समयमा पुर्खाहरूले प्रकृतिलाई धन्यवाद दिँदै तागेरा निङवा भूमाङसँग आशीर्वाद लिँदै नयाँ पाकेको अन्नबाली चढाउँदै मनाउने पर्व नै अहिले आएर लिम्बुहरूले महान् चाड “चासोक तङनाम”को रूपमा हरेक वर्ष भव्य रूपले मनाउँदै आइरहेका छन्।

त्यसो त किराँत लिम्बूहरूले मनाउने महान् चाड चासोक तङनामलाई किराँत जाति भित्रकै राईहरूले साकेला वा उँधौली, याक्खाहरूले चासुवा, सुनुवारले फोलस्याँदर र आफूलाई प्रकृति पुजक मान्ने जातिहरूले आ-आफ्नो भाषाअनुसारको नामले चाड मान्ने गर्दछन्।

प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्हीको रूपमा मनाउने गर्दछन् भने थामी जातिले भूमे पूजाको रूपमा पुज्ने गर्दछन्। जापानको राष्ट्रिय फूलको रूपमा पैँयुको फूललाई मान्ने गरिन्छ।

समयअनुसार पर्वहरूलाई विकसित गर्दै लाने क्रममा अहिले आ-आफ्नो परम्परागत भेषभूषा, भाषा, कला, लिपि, संस्कार, संस्कृति तथा सिङ्गो पहिचानको संरक्षण, विकास सँगै नयाँ पुस्तामा हस्तान्तरण गर्दै लाने संस्कारको रूपमा पर्वहरू विकसित हुँदै गएको छ।

लिम्बुहरूले देश विदेशमा मनाउने गरेको चासोक तङनाम हङकङमा पनि किरात याक्थुङ चुम्लुङ हङकङले हरेक वर्ष भव्य रूपमा मनाउँदै आइरहेको छ। यस वर्ष दोस्रोपटक सुइलामस्थित एक चिनियाँ निजी क्षेत्रमा चासोक तङनाम मनाइयो। हङकङमा रहेका लिम्बुहरूको कुल जनसंख्याको ३० देखि ३५ प्रतिशत मात्र उपस्थित रहेको चासोकमा आगन्तुकहरूको भिडले उक्त स्थान अत्यन्तै खचाखच भरिएको थियो।

तुलनात्मक रूपमा अघिल्लो वर्षको भन्दा धेरै नै राम्रो कार्यक्रम भएतापनि “चासोक तङनाम” मनाउनको लागि खास उपयुक्त स्थान होइन भन्ने सबैको निष्कर्ष थियो। उक्त निष्कर्षमा म आफू पनि आयोजकको एक सदस्य भएको नाताले सहर्ष स्वीकार गरेको छु।

कार्यक्रमको सुरुमा १८ वर्ष मुनिका बालबालिकाहरूले लिम्बु भाषाको हाजिरी जवाफ प्रतियोगितामा उत्साहजनक रूपमा भाग लिएका थिए। बालबालिकाले उत्कृष्ट रूपमा प्रस्तुति दिएको उक्त कार्यक्रमको सबैले प्रशंसा सहित निरन्तरता दिनुपर्ने प्रतिक्रियाको कमी थिएन।

आदिवासी मूलका महावाणिज्यदूत डा. उदयबहादुर राना आफ्नो कार्यकालको अन्तिम पटक प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघ, नेपाली महासंघलगायत करिब डेढ दर्जनभन्दा धेरै संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा चुम्लुङका कार्यकारी अध्यक्ष शम्सेर तुम्बाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव लक्ष्मी पन्धाकले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष श्याम इङनामले गरेका थिए।

लिम्बुहरूको परम्परागत बाजा के:लाङ तथा येवा लाङको प्रस्तुतिसँगै औपचारिक कार्यक्रमको सुरुवात हुन झन्डै ४ बजेको थियो।

हाजिरी जवाफ प्रतियोगिता र सांगीतिक कार्यक्रम रबिन लिङदेन र मनिता साँवाले सञ्चालन गरेका थिए। सेक्मुरीफुङ, नेतिफुङ, सिमेत्लुङ, चोत्लुङ, इमेत्लुङ, फक्ताङलुङ गरी ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा सबै टिमले प्रमाणपत्र तथा पुरस्कार प्राप्त गरेका थिए। तोकिएको समयभन्दा निकै ढिलो गरी सुरु गरिएको सांगीतिक कार्यक्रममा नेपालबाट आउनुभएका कलाकार एवं यहाँका स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुतिले कार्यक्रमको रौनक झनै बढेको थियो।

नेपालबाट आउनुभएका कलाकारहरू रूक्साना लिम्बु र रेखा लिम्बु, विवश नेम्बाङ, राजेन पङघाक र नृत्यका लागि लक्ष्मी योङहाङले विशेष प्रस्तुति दिएका थिए। हङकङका स्थानीयतर्फ गायक राजु आङदेम्बे, सुसन साम्सोहाङ, कमानध्वज लाओती, लक्ष्मी तुम्रोक लिम्बु, मञ्जु कङलिवा, दिपेन इजमले माहोल तताएका थिए। नृत्यतर्फ मनिता साँवा र विमल लिम्बु, सोना लाओतीको ग्यालेक्सी डान्स ग्रुप, सुकु साम्याङखामको समूहले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। साङ्गीतिक कार्यक्रमको उत्कर्षले भीडमा रौनकता छाइरहेकै बेला साँझको १० बजे नै सबै कार्यक्रमहरूको अन्त्य गरी २०२४ सालको चासोक तङनाम समापन भयो।

धेरै कुराको कमीकमजोरी भएता पनि चासोक तङनाम भव्यतापूर्वक सफल भएको मान्नुपर्ने हुन्छ । अझ ठाउँअनुसार हो भने ऐतिहासिक सफल नै मान्नुपर्ने हुन्छ । तर, सफलतामा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा अप्ठ्यारा पाटाहरू नै मुख्यरूपले हेर्नुपर्ने हुन्छ ।

खासगरी, चासोक तङनामको लागि खास उपयुक्त स्थान नहुँदा-नहुँदै पनि चुम्लुङको बाध्यताले गरिएको कार्यक्रममा प्रवेश गर्न निकै झन्झटिलो प्रक्रिया रहेको थियो । अतिथि, कलाकार तथा सबै आगन्तुकहरूले झन्झटिलो प्रक्रिया झेल्नुपरेको थियो । त्यसो त आयोजक अध्यक्ष एवं सबै सदस्यहरूका लागि पनि सामान्य मानिसलाई जस्तै नै झन्झटिलो प्रक्रिया थियो।

आयोजक र स्थल मालिकबीच अगाडि नै कागजी सम्झौता भए तापनि दोहोरो बुझाइमा समस्या भयो। दोहोरो बुझाइको ठोस रूपमा निष्कर्ष निस्कन नसक्दा स्थल मालिकको तर्फबाट अतिथिहरूलाई अनावश्यक टिकट र मासुको पोकाको झन्झट, सर्वसाधारणमा लामो लाइन र बाहिर गएर भित्र आउँदा फेरि पनि टिकट खोजिनु, धुवाँ र भिडले साना-साना नानीहरूलाई सास फेर्न गाह्रो जस्ता अनेकौँ समस्या देखियो। यातायातको कारण कार्यक्रम तोकिएको समयभन्दा पछि धकेलिनु जस्ता विभिन्न समस्या भयो। आयोजकको आन्तरिक समस्या त छँदै छ।

समस्याबाट पाठ सिकेर आउने वर्षहरूमा अझ उत्कृष्ट ढङ्गले किरात याक्थुङ चुम्लुङ हङकङले कार्यक्रम गर्नुपर्ने हुन्छ। उपयुक्त स्थानकै खोजी गर्न जरुरी छ। स्थानअनुसार प्राविधिक कठिनाइहरूका बारेमा पहिचान गरी सहजता बनाउनु पर्ने छ। कार्यक्रमको रूपरेखामा उल्लेख्य सुधार गरी स्थानीय कलाकारदेखि अन्य विविध कार्यक्रम समेट्नु पर्ने छ। यी सबै अप्ठ्यारोहरूलाई मध्यनजर गर्दै आउने वर्षको चासोक सम्पन्न हुनेछ भन्नेमा हामी सबै ढुक्क हुनुपर्ने छ।

अर्कोतर्फ, नेपाली आदिवासीहरूले मनाउने महान् चाड २०४६ सालको राजनैतिक परिवर्तनपछि खुला गरिए पनि २०६२-६३ सालको परिवर्तनपछि मात्र व्यापकता छाउन सकेको छ। यस्ता चाडमा सरकारी तहबाट अझै पनि महत्त्व दिएको छैन। समग्र किरात जातिले मनाउने चासोक, उधौली, चासुवा, फोल्स्याङ्दर, योमरी पुन्ही, भूमे पूजा जस्ता विभिन्न नामले भव्य रूपमा मनाइने चाड नेपालको ७० प्रतिशतभन्दा धेरैले मान्ने चाडलाई सरकारी बिदा दिएर सम्मान गर्नुपर्ने हुन्छ। त्यसका लागि आदिवासीका अगुवाहरूमा बिना स्वार्थ चेतनाको विकास जरुरी छ।

र, अन्त्यमा, विभिन्न कठिनाई भएता पनि चासोकमा सहभागी हुनुहुने तपाईं सबैजनामा किरात याक्थुङ चुम्लुङको तर्फबाट विशेष धन्यवाद छ। यो वर्ष आउन नसक्नुभएका सबैमा अर्को वर्ष आइदिनु हुनेछ भन्नेमा विश्वस्त हुँदै स्वयंसेवकको रूपमा विभिन्न पक्षबाट खटिनुहुने सबै मित्रहरूलाई यरिक यरिक नोगेन छ। अतिथि, कलाकार, बौद्धिक दिग्गज, मिडियाबाट आउनुहुने सबै सबैमा यरिक यरिक नोगेन।

नोगेन। सेवारो।

तस्बिर: विजय सुब्बा





Comments

comments

128499