के नेपाली भाषा मर्दै छ?

भाषा मर्ने भनेको के हो। भाषाको दुईटा पक्ष हुन्छ। एउटा कथ्य बोलिने, अर्को लेख्य। मैले लेखेको प्रसंगको कुरा गर्नुभयो। त्यसमा मेरो के जिकिर छ भने नेपाली भाषा मर्छ। यस अर्थमा कि यसको प्रगति र यसको समृद्धि हुँदैन। यसको क्षयीकरण हुन्छ। भाषा भनेको ज्ञान, विज्ञान, दर्शन प्राप्त गर्ने माध्यम हो। तर, यदि लेख्य भाषा जीवित रहेन भने मृतक तुल्य नै हो। मैले त्यस लेखमा यो आफ्नो डर प्रकट गरेको छु। बोल्ने त रहलान्। यो पनि नेपालको जनसंख्या झण्डै ३ करोड पुगेको छ।

नेपाल बाहिर पनि नेपाली भाषीहरू छन्। तसर्थ यस अर्थमा रहला। तर, के कथ्य भाषाको रूपमा? यो उत्कृष्ट, नयाँ-नयाँ साहित्य सिर्जना गर्ने, दर्शन विज्ञानसम्म पुग्ने, सशक्त माध्यमको रूपमा रहन्छ भन्ने मेरो चिन्ता हो। संस्कृतिको कुरा गर्नुभयो। संस्कृत एक अर्थमा भन्ने हो भने त्यो मृत भाषा हो। यो जीवित भाषा होइन। त्यो कहाँ छ? साहित्यमा छ, इतिहासमा छ। पुरातनहरूमा छ। त्यो म्युजियमको विषय बन्यो।

लेख्य साहित्य बडो समृद्ध छ। यसमा कुनै शंका छैन। जस्तो युरोपियन सन्दर्भमा भन्ने हो भने ल्याटिन भाषा। ल्याटिन भाषाविना त युरोपको कुनै पनि भाषा साहित्यको इतिहास नै खत्तम हुन्छ। बुझ्नै सकिन्न। सबैको मातृभाषा हो। संस्कृत धेरै भाषाको मदर ल्याङ्ग्वेज हो। त्यहाँबाट मिश्रित भएको छ नेपाली, हिन्दी यी सबै। युरोपियन ल्याङ्ग्वेजको मातृभाषा हो संस्कृत। जीवित छ तर, लेख्य मात्रै कथ्य रुपमा छैन। तसर्थ त्यसलाई भन्नुपर्ने हुन्छ। इतिहासको म्युजियमको भाषा भयो। जसरी ल्याटिन भाषा भयो।

बोल्ने, अभ्यास गर्ने मानिस नभएपछि त्यो भाषा मर्छ। प्रत्येक दिन यहाँ मात्र होइन, विश्वभर भाषाहरू मरिरहेका छन्। एउटा लोपोन्मुख भाषा पनि छ। लोप भएका भाषाहरू त भइहाले, हराएका र हराउनै लागेका भाषा। उहाँहरूले त्यसलाई वर्गीकरण गर्नुभएको छ। मलाई डर के हो भने त्यही रित रहेमा अर्थशास्त्रको सिद्धान्तको कुरा गर्दाखेरि यो सिद्धान्त लागु हुन्छ। यसमा सर्त हुन्छ। यही रित रहेमा हराउँछ।

अहिलेको रित के छ? अहिलेको चलन के छ? मेरो लेखमा ससाना नाति-नातिनाको वास्तविक उदाहरण दिएर लेखेको छु। नाति ८ वर्षको थियो। नातिनी ५ वर्षको थिइन्। नातिनी त एक कक्षा पनि चढेकी थिइनन्। ती दाजुबहिनी एकआपसमा अंग्रेजीमा कुरा गर्छन्। अंग्रेजीमा झगडा गर्छन्। बाजे चाहिँ नेपालीमा लेख्छ। नेपालीमा कल्पना गर्छ। नेपाली भाषाको चिन्ता गर्छ। र मेरा नाति-नातिनी प्रतिनिधि पात्र मात्रै हुन्। पुस्तापुस्ता, तिनीहरूका आमाबाबुका पुस्ता।

काठमाडौंमा बसियो। छोराछोरीलाई राम्रै स्कुलमा पढाइयो। जसलाई अहिले चलनचल्तीमा बोर्डिङ भन्छन् नि। अर्थ पनि विस्तार भएर के छ भने कस्तोलाई बोर्डिङ भन्ने जहाँ अंग्रेजी पढाइँ हुन्छ। अर्थ विस्तार भएर। खासगरी बोर्डिङ अर्थ के हो भने जहाँ खाना बस्नको व्यवस्था हुन्छ। खासमा त्यो हो शाब्दिक अर्थ। र हामीले सकिनसकि राम्रै स्कुलमा पढायौं। अंग्रेजीमा पनि जान्ने भए। उनीहरू पनि मेरा छोरीज्वाइँभन्दा बढ्ता चाहिँ छोराबुहारी। अब किन भन्नुहोस्। छोरो सेन्ट जेभियर्समा पढेको। बुहारी पनि सेन्ट जेभियर्समा।

उनीहरू पनि नेपालीमा सम्झाउने, हकार्ने होइनन्। भरसक अंग्रेजीमै बोलिराखेका हुन्छन्। र फेरि मेरा छोराबुहारी पनि उनीहरूका पुस्ताका प्रतिनिधि पात्र हुन्। कहीँ पनि जानुहोस्। पार्कमा होस् या सपिङ मलमा। ३५/४० वर्षका छन् छोराछोरी। उहाँहरूले कम कम, सिट डाउन, वेलकम, बाइ बाइ भन्छन्। यसलाई अंग्रेजीमा प्यारोटिङ भन्छ। सुगा जस्तो अर्काले अंग्रेजी बोल्यो भने म पनि त्यस्तै अंग्रेजी बोल्न पाएँ हुन्छ भन्ने यो डरलाग्दो प्रवृत्ति हो।

म कुरा गरिरहेको छु। समृद्ध, जीवित भाषा हुनका लागि यसका केही आधारहरू हुन्छन्। जसको माध्यमबाट हामी उच्चतम ज्ञान, दर्शन, विज्ञानसम्म पुग्न सक्नुपर्छ। त्यत्तिकै बस्नुहुँदैन। भाषा बचाउने भनेको अभ्यासकर्ताले हो। भाषालाई कहिलेकाहीँ कसरी हेर्छु भने यो बग्दो नदी जस्तो हो। व्याकरण के हो भने त्यो नदीलाई बाँधेर नहर बनाएर सिँचाइ गरेजस्तो हो। नत्र त्यो त छाडा हुन्छ नि। बाढी ल्याउँछ। सदुपयोग गर्नुपर्‍यो। व्याकरणको हैसियत त्यो हो। कहिलेकाहीँ पानी त्यो बाँधबाट अलिकति माथितिर त्यसलाई के भन्ने? बाँधलाई उछिनेर पानी बग्छ। व्याकरणसम्मत नभएपनि राम्रो सुनिन्छ।

कानुनी आदेश जारी गरेर भाषा बचाउन सकिँदैन। गलत कुरा हो। भोलि आयोगमा त्यस्तो भाषा आयो भने व्यवहारमा भाषा बोल्नेले, अभ्यास गर्नेले त्यसलाई रिजेक्ट गरिदिन्छन्। त्यसलाई अस्विकार गरिदिन्छन्। एउटा पहिचानको आन्दोलन यहाँ बढ्यो। गुरुङले गुरुङ भाषा, मगरले मगर भाषा, हरेकले आफ्नो भाषा बोल्ने उनीहरूले नेपाली भाषालाई खस भाषा भन्छन्। लेखकहरू छन्। कविहरू छन्।

के मा लेख्छन्? नेपालीमा लेख्छन्। आफ्नो मातृभाषा दाबी गरिराखेका छन्। त्यसमा लेखिराखेका छैनन्। प्रहार गरिराखेका छन्। नेपाली भाषा भयो। यो अब खस भाषा रहेन। यसलाई पर्वतीय, गोर्खे भाषा पनि भनिन्थ्यो पहिले। तर, हामी नेपाली भाषा भनेर स्वीकारेमा मानौं न। किन गाली गर्नुहुन्छ? हेर्नुस् कतिपय सरकारी कार्यालयको सूचना पाटीमा गलत तरिकाले व्याकरण प्रयोग गरिराखेका हुन्छन्।

(लेखक, अनुवादक तथा सम्पादक वसन्त थापाले पोखरामा जारी १२औं एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘के नेपाली भाषा मर्दै छ?’ सेसनमा राखेको सम्पादित अंश)





Comments

comments

129500