अमेरिकी छोरीको कथा

पोखरा, अमेरिकी नागरिक म्यागी डोएनले नेपाललाई सगरमाथा वा पर्यटकीय शहर पोखरामार्फत चिनेकी होइनन्। जुन गन्तव्य विदेशी पर्यटकहरू माझ नेपाललाई सुन्दर देखाउने एउटा उदाहरण हुन्। १९ वर्षको उमेरमा भारत घुम्न आएकी डोएनले नेपाली श्रमिकहरूमार्फत पश्चिम नेपालको दृष्टान्त सुनिन्। त्यसै क्रममा उनी यात्रामा निस्किन कर्णालीतर्फ। यात्राको क्रममा सुर्खेत पुगेकी डोएनले नदी किनारमा बालबच्चाले गिट्टी कुटिरहेको देखिन्। यो दृश्यले अमेरिकामा शिक्षाको सहज पहुँच पाएर हुर्केकी डोएनलाई घोच्यो।

‘खोलामा कति धेरै बच्चा । गिटि कुट्ने ? यो सानो बच्चा किन गिट्टी कुट्दैछ यो घाम र चिसोमा?’ मैले सोधेँ। ‘एक ब्याग बेचेपछि १ सय रुपैयाँ आउँछ, खाने पैसा आउँछ।’ तब मैले आफू ६ वर्षको उमेरमा पढ्न सिकिरहेको र खेलिरहेको कुरा सम्झिएँ। यो मलाई न्यायपूर्ण लागेन,’ डोएनले भनिन्।

एनसिएल फाउण्डेसनको नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन भएको ‘अमेरिकी छोरी, नेपाली आमा’ सत्रमा कुराकानी गर्दै उनले पश्चिम नेपालको भ्रमणले फरक ढंगले नेपालसँग आफ्नो परिचय जोडिएको बताइन्।

सत्रका सहजकर्ता, बालरोग विशेषज्ञ तथा लेखक नवराज केसीले म्यागीलाई नेपाल आउँदाको पहिलो अनुभव सम्झाए। म्यागी आफ्नो नेपालको पहिलो यात्रालाई गाह्रो मान्छिन्।

‘सुरुमा मेरो यात्रा नेपालमा धेरै गाह्रो भयो। म युवती थिएँ, मसँग केही उत्तर थिएन। १९ वर्षको युवतीसँग केही थिएन। म कर्णालीमा हिँड्दै थिएँ। म अनुभव लिँदै थिएँ। अमेरिकी महिला जसले शिक्षा पाएकी थिई, जसले अरूको पीडा देखेकी थिइन। यो यात्रामा मैले यी सबै देखेँ, महसुस गरेँ,’ म्यागीले भनिन्।

यही दृश्यले उनलाई चिमोट्यो। आफू शिक्षादीक्षामा सहज वातावरणमा हुर्केकी म्यागीले ती बच्चाहरूको जीवन नजिकबाट नियालिन्। त्यही समय उनले निर्णय गरेकी थिइन्, यसरी बालबालिकालाई किनारमा गिट्टी कुट्न दिन्न। १९ वर्षकी युवती जसँग योजना वा रकम केही थिएन, मात्र थियो त प्रश्न र इच्छा। यही क्रममा उनी आफ्नो देश फर्किएर नदी किनारमा भेटिएका बालबालिकाका लागि सपना लिएर आइन्। उनले २००९ सालमा कोपिला भ्याली विद्यालय खोलिन्। समाजसेवी उनले सिएनएन हिरो अवार्ड समेत पाएकी छिन्।

‘म यो विषयलाई छोडेर जान चाहिनँ। मैले स्वीकार गर्न पनि सकिनँ। मलाई एक दिन यो खोलाको किनार आउँदा कुनै पनि बच्चा फेरि देख्न नपरोस् लाग्यो, मैले त्यसपछि कुरा बुझ्न थालेँ। मसँग प्रश्न मात्र थिए,’ उनले हर्षका साथ भनिन्, ‘अहिले खोला किनारमा कुनै बच्चा गिट्टी कुट्दैनन्। मैले मात्र होइन समुदायले गर्दा पनि हो।’

उनले आफ्नो कामका बारेमा ‘बिटविन द माउन्टेन एन्ड स्काई’ लेखेकी छन्। जसको नेपालीमा अनुवाद भएर आउँदै छ।

बच्चाको शिक्षामा जीवन बिताएकी म्यागी उनीहरुको सुन्दर भविष्य देख्दा आशा लाग्ने बताउँछिन्।

‘उनीहरुको सुरक्षा गर्नुस्। आफ्नो मात्र होइन सबै बच्चाको। उनीहरु डाक्टर वा भविष्य बनेका हेर्नु त्यो हेर्दा मलाई निकै आशा लाग्छ,’ उनले भनिन्।

बहसमा रामकृष्ण काफलेले १९ वर्षको अवधिमा के कति अन्तर पाएको प्रश्न गरेका थिए। ‘कर्णालीको व्यथा देखाउनुभयो, त्यो किताबबाट जानकारी लिनु। १९ वर्ष र अहिलेमा त्यहाँको आमा र बच्चामा कति अन्तर पाउनुभयो?’ काफलेले प्रश्न गरे।

यसको जवाफमा म्यागीले हर्षित हुँदै कर्णालीले मात्र होइन, पछिल्लो समयमा नेपालले धेरै सफलता हासिल गरेको सुनाइन्।

‘१९ वर्ष अगाडि र अहिले धेरै फरक छ। नेपालले ठूलो सफलता हासिल गरेको छ। महिलाहरू विद्यालय जान्छन्। सफलताका धेरै कथाहरू छन्। त्यो समयमा बालविवाह धेरै हुन्थ्यो,’ म्यागीले जवाफ दिइन्।

त्यसैक्रममा विरसिंह बुढाको प्रश्न थियो – ‘महिला सशक्तिकरणका विषयमा तपाईंले मुख्य के गरिरहनुभएको छ?’

यसमा उनीहरूले स्वच्छ महिनावारीको विषय र पोषिलो खानाको विषयमा काम गरिरहेको सुनाइन्। सोही काम गरिरहँदा आफूहरूले महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम आवश्यक रहेको बुझेपछि त्यसअनुरूप काम अगाडि बढाएको सुनाइन्।

‘त्यहाँ मेरो उमेरको कोही शिक्षा पाएनन्। उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु पनि अर्को कुरा हो। हाम्रो कार्यक्रमको मुख्य विषय पनि यो थियो। स्वरोजगारको वातावरण बनायौँ,’ म्यागीले भनिन्।





Comments

comments

129497