नेपाल–भारत प्राध्यापक सम्मेलनको सहअध्यक्षमा प्रा.डा.कविता लामा

एचकेनेपाल डट कम संवाददाता –

काठमाडौं, त्रिमूर्ति निकेतनले नेपाल–भारत नेपाली भाषासाहित्य प्राध्यापक सम्मेलनको सहअध्यक्षमा सिक्किम राज्य विश्वविद्यालयको भाषा साहित्य सङ्कायका डीन प्रा.डा.कविता लामालाई मनोनीत गरेको छ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बुधवार बसेको विशेष बैठकले सो निर्णय गरेको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी गराउंनु भएको छ।

नेपाल–भारत नेपाली भाषासाहित्य प्राध्यापक सम्मेलनको तीन दिने बृहत् प्राज्ञिक भेला निकट भविष्यमा काठमाडौंमा हुने भएको छ । यस प्रयोजनका लागि त्रिमूर्ति निकेतनका मानार्थ सदस्य तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.महादेव अवस्थी अध्यक्ष तथा डा.लक्ष्मणप्रसाद गौतम उपाध्यक्ष पदमा रही दुई वर्षअघिदेखि कार्यरत हुनुहुन्छ ।

सम्मेलनका लागि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले ‘नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षक अन्तर्गत कार्यपत्र लेख्नु भएको छ ।

कार्यपत्र लेख्ने अन्य प्राज्ञहरूमा डा.ऋषिराम शर्मा, प्रा.डा. कपिल लामिछाने, प्रा.डा.कविता लामा, प्रा.खेमराज जोशी, प्रा.डा.जङ्गब चौहान, प्रा.डा.ताराकान्त पाण्डेय, डा.दैवकीदेवी तिमिल्सिना, डा.पुष्प शर्मा, प्रा.डा.रमेश भट्टराई, डा.लक्ष्मणप्रसाद गौतम, डा.लेखप्रसाद निरौला, प्रा.डा.सञ्जय राई र डा. हर्कबहादुर शाही हुनुहुन्छ ।

सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयहरूमा प्राध्यापन गर्ने ३५० जना जति प्राज्ञिक व्यक्तित्वको सहभागिता हुने भएको छ ।

नेपालका नौ ओटा विश्वविद्यालयमध्ये त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूर पश्चिमाञ्चल विश्वविद्यालय गरेर जम्मा छ ओटा विश्वविद्यालयमा नेपाली भाषा पढाइने गरिएको छ । ती विश्वविद्यालय र ती अन्तर्गत देशभरिमा स्नातकोत्तर स्तरमा १०४ ओटा र स्नातक स्तरमा झन्नै ८०० ओटा जति क्याम्पसमा नेपाली भाषा साहित्य पढाइने गरिएको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा मात्र नेपाली भाषा साहित्यमा विद्यावारिधि गराइन्छ । नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो र यसको स्थापना संवत् २०१६ सालमा भएको थियो ।

यसै गरी भारतमा २०० ओटा विश्वविद्यालयमध्ये आठ ओटा विश्वविद्यालयमा नेपाली भाषा साहित्यको अध्ययन, अध्यापन र अनुसन्धान गराइन्छ । तीमध्ये काशी हिन्दू विश्वविद्यालय, उत्तर बङ्ग विश्वविद्यालय र सिक्किम राज्य विश्वविद्यालयमा नेपाली भाषा साहित्य विषयमा स्नातकोत्तरसम्म पढाउने गरिएको छ । यी विश्वविद्यालयहरूमा नेपाली भाषा साहित्यमा विद्यावारिधि पनि गराइन्छ । गौहाटी विश्वविद्यालयमा दूरशिक्षाका माध्यमबाट स्नातकोत्तर तह अध्ययन तथा अध्यापन गराइन्छ ।

सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, मणिपुर विश्वविद्यालय, नेहु (मेघालय) विश्वविद्यालय, आसाम विश्वविद्यालय र डिप्रुगढ विश्वविद्यालयमा स्नातकतहसम्म नेपाली भाषा साहित्यको अध्यापन गराइन्छ ।

भारतमा ११२ वर्षअघि नेपाली भाषा पढाउन थालिएको थियो । सर्वप्रथम सन् १९०६ देखि लखनऊ विश्वविद्यालयमा नेपाली विषय पढाउन थालिएको थियो । त्यसै गरेर पटना विश्वविद्यालयमा सन् १९१३ र कलकत्ता विश्वविद्यालयमा सन् १९२० देखि नेपाली भाषा साहित्य पढाउन थालिएको थियो । अहिले यी तीनै विश्वविद्यालयहरुमा नेपाली भाषाको अध्यापन गराइदैन । तर कलकत्ता विश्वविद्यालयमा भने नेपाली पढाउने प्राध्यापकको अहिले पनि दरबन्दी कायमै रहेको छ ।





Comments

comments

Leave a Reply

24925