गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिद्वारा सधन्यवाद आभार व्यक्त..

ब्रिटिश गोरखाहरुमाथि बेलायती रक्षा मन्त्रालय (MoD) द्वारा २०७ बर्ष अघिदेखि भएको अमानवीय बिभेदबिरुद्ध आरम्भ गरिएको समानताको आन्दोलनले तीन दशक पार गरिसक्दा पनि समस्या समाधान गर्न बेलायत सरकार तत्पर नभएपछि बाध्य भएर गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले २१ जुलाई २०२१ देखि अन्तिम निर्णायक आन्दोलन आरम्भ गरेको थियो।

फाइल फोटो

गोरखा आन्दोलनको इतिहासमा, बिभिन्न गोरखा संघ संस्थाहरुले आ-आफ्नै ढंगले आन्दोलन गरेता पनि कसैबाट निस्वार्थ र निर्णायक आन्दोलन हुन नसकेपछि तत्कालीन बि.गे.सो. र यु.बि.जि.एन. को सक्रियता र सबै गोरखा संस्थाहरुको समर्थनमा २४ अप्रिल सन २०१३ मा ” गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति गठन भएको थियो।

यो संघर्ष समितिले ७ नोभेम्बर २०१३ बाट निर्णायक आन्दोलन स्वरूप रिले अनशनसहित आमरण अनशन आरम्भ गरेको थियो। ज्ञानराज राईले १५ दिनसम्म आमरण अनशन गरे पश्चात् बेलायत सरकारले गोरखाका मुद्दा छानबिन गर्न एक सर्वदलीय संसदीय समिति गठन गरेको थियो। सो समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथि कुनै छलफल नभएपछि सन २०१७ मा पून: सत्याग्रहले ३ महिने अल्टिमेटम दिएर आमरण संसदीय घोषणा गरेपछि बेलायत सरकार त्रिपक्षीय प्राबिधिक संयन्त्र गठन गरि बेलायती सर्बदलीय संसदीय समितिको प्रतिवेदनमा आधारित भई गोरखाहरुका सम्पूर्ण मुद्दाहरुमा वार्ता गर्न सहमत भएको थियो।

ब्रिटिश सरकारका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि र भूतपूर्व गोरखाका प्रतिनिधिहरू सम्मिलित प्राबिधिक समितिले एक बर्ष समय लगाएर तयार गरेको प्रतिवेदन सन २०१८ को आरम्भ मै बेलायत सरकार र नेपाल सरकारलाई बुझाएका थिए । जस्को कार्यान्वयन ३ देखि ६ महिनाभित्रै गरिने भनिएको थियो।

तर सन् २०२१ को उत्तरार्ध सम्म राजनैतिक तथा कुटनैतिक तवरबाट अनेकौं पहल गर्दा पनि प्रतिबेदनको कार्यान्वयन गरि समस्या समाधान गर्ने कुनै तादरुक्ता नदेखाएपछि यो अन्तिम निर्णायक आन्दोलनका लागि २१ जुलाई २०२१ बाट सत्र दिने रिले अनशन सम्पन्न गरेपश्चात ०७ अगष्ट २०२१ बाट हाम्रा साहसी अभियन्ताहरु क्रमशः श्री ज्ञानराज राई, श्री धनबहादुर गुरुङ र श्रीमती पुष्पा राणा घलेले आमरण अनशन आरम्भ गरेका थिए।

यो निर्णायक आन्दोलनको आरम्भबाटै बिशेष गरी ब्रिटिश भेट्रान तथा न्याय प्रेमी बेलायती नागरिकहरुले हरेक दृष्टिकोणले अहोरात्र साथसहयोग दिएका थिए । यदि उहाँहरूको ससक्त सहभागिता नरहेको भए हाम्रो आन्दोलनका लागि त्यो स्तरमा संचार माध्यमहरुले बेलायत सरकारमाथि दबाब सृजना गर्न सक्ने थिएनन् होला!

त्यसैगरी, बेलायतमा रहेका नेपाली संघ संस्थाहरु, बिद्धान, बुद्धिजीवी, न्याय प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको ऐक्यबद्धता, हौसला एवं साथ सहयोगले आन्दोलनलाई गन्तब्यमा पुर्याउन ठूलो सहयोग पुगेका छ।

नेपाल सरकारलाई जिम्मेवार बनाउदै समस्या समाधानकालागि अग्रसर गराउन अहोरात्र प्रभावकारी पहल गर्ने गोरखा सत्याग्रह नेपालका पदाधिकारीहरु र बौद्धिक जगतबाट यस आन्दोलनलाई ससक्त बनाई नेपाल र बेलायत सरकारलाई गम्भीर दबाब दिन प्रा. डाक्टर यूवराज संग्रौलाले खेल्नु भएको महत्वपूर्ण भूमिका यो आन्दोलनका लागि कोशेढुंगा साबित भएको छ। नेपालका प्रबुद्ध नागरिक समाज, प्रतिनिधि सभा तथा प्रदेश सभाका माननीय संसदहरु कानुन ब्यावसायी, मानव अधिकारकर्मीहरुले यो मुद्दा गोरखाहरुको मात्र नभएर नेपालको राष्ट्रिय मुद्दा भएकाले सबै नेपाली यस आन्दोलनमा सहभागी हुन आव्हान गरेर नेपाल सरकारलाई थप जिम्मेवार बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

बेलायत, हङकङ, नेपाल लगायत बिश्वका बिभिन्न मुलुकमा रहेका ब्रिटिश गोरखा परिबारले यो आन्दोलनलाई आत्मसात गर्दै सामूहिक रुपमा साथै ब्यक्तिगत रुपमा आर्थिक, नैतिक एवं भौतिक रुपमा पुर्याएको योगदानले हाम्रा ३ महान सत्याग्रहीहरु र सम्पूर्ण अभियन्ताहरुलाई ठूलो हौसला र साहस मिलेको थियो।

अन्ततः उल्लेखित सम्पूर्ण संघ संस्थाहरु तथा ब्यक्ति ब्यक्तित्वहरुको अमूल्य साथ सहयोग, योगदान, अनि गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको दृढ संकल्प र महान सत्याग्रही श्री ज्ञानराज राई श्री धनबहादुर गुरुङ र श्रीमती पुष्पा राणा घलेको अदम्य साहसका कारण,
आमरण अनशनको तेह्रौँ दिनमा गोरखाका माग सम्बोधन गर्ने प्रतिबद्धतासहितको लिखित सहमति पत्र लिएर बेलायती भेट्रान मन्त्री लियो डोखेर्टी र नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी अनशन स्थल मै उपस्थित भएपछि अनशन तोडिएको थियो।

यो सम्पूर्ण गोरखाहरु र स्वाभिमानी नेपालीहरुका लागि ऐतिहासिक नैतिक बिजय हो। उक्त सहमति पत्रानुसार आगामी डिसेम्बर २०२१ भित्र ब्रिटिश सरकार, नेपाल सरकार र गोरखा सत्याग्रहबीच निर्णायक त्रिपक्षीयवार्ता गरि सदाका लागि समस्या समाधान गर्ने प्रतिबद्धता उल्लेख भएको छ।

अन्त्यमा, यो आन्दोलनलाई ऐतिहासिक रुपमा सफल बनाउन आ-आफ्नो ठाउँबाट रचनात्मक योगदान पुर्याउनु हुने बेलायतमा रहेका नेपाली संघ संस्थाहरु, ब्यक्ति बिशेष, संचारकर्मी, बौद्धिक जगत, न्यायकर्मी, उद्यमी, ब्यवसायी, ब्रिटिश भेट्रान संघ संस्था, न्यायप्रेमी बेलायती नागरिकहरु, संचारजगत साथै आन्दोलनलाई ब्यवस्थापन गर्न अहोरात्र सक्रिय भूमिका निर्वाह गर्ने गोरखा सत्याग्रहका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरुलगायत गोरखा भान्जा भान्जीहरुप्रति “गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति” ससम्मान आभार ब्यक्त गर्दछ।

जय गोरखा !!!


सन्तोष थलङ

(संयोजक -यूके/नेपाल)

कृष्णबहादुर राई
(प्रमुख संयोजक)

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति
२१ अगष्ट २०२१





Comments

comments

Leave a Reply

44686