भट्टराईको राजीनामापछि प्रचण्ड मौन

पार्टी परित्याग गरेका नेता बाबुराम भट्टराईले प्रचण्डप्रति कुनै दुराग्रह नभएको बताएका छन्।

‘उहाँलाई पार्टी छाडेको जानकारीसहित पत्र पठाएको छु। केही प्रतिक्रिया पाएको छैन, उनले भने, ‘उहाँप्रति मेरो कुनै दुराग्रह छैन्।’

साथै उनले उहाँपनि देश र जनताकै सेवामा लागेको नेता हो, सायद छिट्टै भेटघाट होला समेत भने। कान्तिपुर दैनिकमा समाचार छ। ‘प्रचण्डसँग आफ्नो व्यक्तिगत सम्बन्ध अहिले पनि राम्रै छ’ उनले थपे ‘भोलि पनि मुद्दागत आधारमा हाम्रो सहकार्य हुन सक्छ।’

भट्टराईले यसरी बुझाए प्रचण्डलाई राजीनामापत्र
काठमाडौं – एमाओवादी नेता बाबुराम भट्टराईका सहयोगी सञ्जिव क्षत्रीले अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा दुई बजेतिर टेलिफोन गरे । र, निवासमा दाहाल भए–नभएको बुझे ।

अध्यक्ष दाहाल घरमै भएको जानकारी पाएलगत्तै सानेपास्थित भट्टराई निवासबाट भट्टराईका सहयोगी क्षत्री लाजिम्पाट पुगे।

ढोकैमा दाहालका मुख्य सहयोगी चूडामणि खड्कालाई भेटेर ‘बाबुराम सरले एउटा पत्र पठाउनुभएको छ, अध्यक्षज्यूलाई दिनुहोला’ भनी फर्किए।

स्टिच खोलेर पत्र पढेपछि दाहाल छाँगाबाट खसेझैँ भए। भट्टराईले पत्रमा ‘पार्टी परित्याग गरेको’ व्यहोरा उल्लेख गरेका थिए।

भट्टराईको अप्रत्याशित राजीनामा आएपछि एकछिन त दाहालले केही सोच्नै सकेनन्। आफू, पार्टी र देशसमेत एकैचोटि भयंकर संकटमा परेका बेला बाबुरामले नमज्जासँग धोका दिएको महसुस गरे। जबकि यतिबेला उनले भट्टराईको सबैभन्दा बढी सहयोग अपेक्षा गरेका थिए। पत्रबारे दाहालले न भट्टराईलाई फोन गरेर बुझ्न सके, न त सहयोगीसँग सल्लाह नै गर्न भ्याए।

केहीबेरमै भट्टराईले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरिदिए । देश–विदेशमा समाचार फैलिएपछि लगातार दाहाललाई फोन आउन थाल्यो। तर, अचानक के भइरहेको छ भन्ने उनले नै ठम्याउन सकेनन्।

आइतबारदेखि केन्द्रीय समिति बैठक बोलाउने भट्टराईकै प्रस्ताव थियो, त्यसको अघिल्लो दिन अचानक राजीनामा घोषणा गरिदिए। दुई दिनअघि दाहाल, भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपस्थित बैठकले दुईवटा निर्णय गर्यो पहिलो, असोज १० गतेका लागि केन्द्रीय समिति बैठक बोलाउने र अर्को संविधान निर्माणपछि प्रेस विज्ञप्ति जारी गर्ने। त्यो दुवै काम त्यही दिन सम्पन्न भयो।

संविधान निर्माणपछिको अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा लाजिम्पाटस्थित दाहालको छतमा दुई घन्टा दुवै नेताबीच गम्भीर छलफलसमेत भएको थियो। छलफलमा पार्टीलाई नयाँ ढंगले लैजान माओवादी शक्तिलाई एकै ठाउँमा ल्याउने र नयाँ कार्यदिशा विकास गरेर अघि बढ्नेसम्मका कुराकानी भएको थियो।
‘वैद्य, विप्लव, मातृका र मणि थापा सबैलाई एकैठाउँमा ल्याउने र नयाँ शक्ति बनाएर अघि जाने भन्नेसम्मको कुराकानी भएको थियो । तर आज अचानक राजीनामा आयो, छक्कै परियो,’ दाहालनिकट स्रोतले भन्यो।

‘पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घटनाले हाम्रो पार्टी आश्चर्यमा परेको छ,’ प्रवक्ता दीनानाथ शर्माले मध्यराति विज्ञप्ति जारी गर्दै भनेका छन् ।

भट्टराईले पहिलो संविधानसभा विघटन भएयता तीनपटक अध्यक्ष दाहाललाई राजीनामा दिइसकेका थिए तर कुनै स्वीकृत भएको थिएन। तर, शनिबार पहिलेभन्दा फरक भयो, उनले राजीनामा बुझाएर पत्रकार सम्मेलनबाट घोषणा गरिदिए। आजको नागरिक दैनिकमा खबर छ।

खासमा भट्टराई संविधान निर्माणक्रममा ६ वटा प्रदेश बनाउने प्रमुख दलबीच सहमति हुदाँसम्म अध्यक्ष दाहालको साथमा कटिबद्ध थिए। उक्त सहमतिलगत्तै भट्टराईमा परिवर्तन देखा पर्न थाल्यो। उनले अध्यक्ष दाहाललाई असहयोग मात्रै गरेनन्, संविधान निर्माणलाई तिव्रता दिन लागिपरेका दाहाललाई रोक्न भरमग्दुर प्रयास पनि गरे। संविधान निर्माण प्रक्रिया नरोके राजीनामा दिनेसम्मका धम्की अध्यक्ष दाहाललाई दिन थाले तर दाहालले उनको कुरा सुन्दै सुनेनन्।

भारतीय राजदूत रन्जित रेको क्रियाशीलता बढेपछि उनी झन् उग्ररुपमा प्रक्रिया रोक्न लागि परे भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दूत’ एस. जयशंकर आएपछि उनी पूरै संविधान निर्माणको प्रक्रियाको विपक्षमा उभिए। भट्टराईमा आएको यो परिवर्तनलाई बुझ्न दाहाललाई कुनै गाह्रो थिएन तैपनि संविधान निर्माण प्रक्रिया भने रोकेनन्।

बाबुराम भट्टराईद्वारा पार्टी त्याग (भिडियोसहित)





Comments

comments

Leave a Reply

8828