मिठो खाना खान हरेकृष्ण मन्दिर पुग्थे स्टिभ जब्स

विश्वकै लोकप्रियमध्येको ब्रान्ड एप्पलका संस्थापक स्टिभ जब्स कलेज भर्ना भए। तर, उनले अध्ययन पूरा गरेनन्।

कलेज भर्ना भएको ६ महिना पनि नबित्दै उनले कलेज छाडे । आर्थिक समस्या नै उनले कलेज छाड्नुको प्रमुख कारण थियो। क्यालिफोर्नियाको कुपरटिनोमा उच्च शिक्षा हासिल गरेपछि उनी रिड कलेजमा भर्ना भएका थिए।

तर, पाँच महिना बित्दा–नबित्दै उनले निर्णय लिए, ‘यसरी समस्या भोग्दै कलेज सक्नुभन्दा आफैँ केही गर्छु ।’ उनले त्यतिवेला आफूले गरेको निर्णय ठीक भएको पछि आत्मकथा ‘स्टिभ जब्स’मा लेखेका छन्, ‘म प्राइभेट कलेजको त्यो महँगो फी तिर्न मेरा बुबाआमालाई बाध्य पार्न सक्दिनथेँ । मैले जे निर्णय गरेँ, त्यो ठीक थियो ।’ उनले त्यतिवेला आफूसँग अरू विकल्प पनि नभएको आत्मकथामा उल्लेख गरेका छन्।

कलेजमा लामो समय नबिताएका जब्सले पछि विश्वविद्यालयका विभिन्न अवसरमा आफ्ना मन्तव्य राखे। त्यस्ता कार्यक्रममा उनले आफू विश्वविद्यालय पढ्न नपाउँदाको पीडाबारे पनि बताउँथे। नयाँपत्रिकामा खबर छ।

जीवनमा आइपरेका सुख–दु:खका घटना सुनाउँथे । सन् २००५ मा स्टानफोर्ड विश्वविद्यालयमा जब्सले भने, ‘मैले कुनै रमाइलोका लागि कलेज छाडेको होइन । त्यतिवेला मसँग सुत्न एउटा कोठा पनि थिएन।

साथीको कोठामा शरण लिन्थेँ, भुइँमा सुत्थेँ। पाँच सेन्ट्सका लागि म कोकका बोतलहरू फिर्ता गर्थेँ । त्यो पैसाले म खाना किन्थेँ । हरेक आइतबार साँझ म राम्रो खानाका लागि सात माइलसम्म हिँड्थेँ।

सात माइल हिँडेपछि हरेकृष्ण मन्दिरमा खाना पाइन्थ्यो, मेरो एक साताको मीठो खानाको इच्छा त्यसैले पूरा गथ्र्यो ।’ यस्तो अवस्थामा आफूले कलेजमा खासै ध्यान दिन नसकेको उनले आत्मकथामा लेखेका छन्। तर, कलेज पढ्न छाडे पनि जब्सले आफ्नो रुचिलाई मर्न दिएनन्।

उनी अगाडि बढिरहे। ‘एप्पल’ स्थापना गरेपछि त उनले पछाडि फर्केर हेर्नु पनि परेन।





Comments

comments

Leave a Reply

11648