बिटबक्समा छाउँदै आयुष…


अर्जुन गिरी/ एचकेनेपाल डट कम –
पोखरा, २३ फागुन। दश वर्षअघि उनले पहिलो पटक बिटबक्स सुने र हेरे । नौलो बिटबक्स कला देखेर ११ वर्षीय आयुष लम्साल मात्र होइन, सबै चकित भए । त्यो बेला अजीव लाग्नु स्वभाविकै थियो । अहिले पनि धेरैलाई थाहा छैन बिटबक्स।

बाद्यवादन सामग्रीको आवाज मुखले निकालेको देखेपछि आयुष पनि त्यसतर्फ तानिए । उनी जस्तै उनका साथीहरूलाई पनि त्यसले लोभ्याएको थियो । अन्यले हेरेरै आनन्द लिए तर आयुषले सिक्ने प्रयास गरे । तर, न बिटबक्स सिकाउने कुनै संस्था थियो न त कुनै गुरु । अवरोधका बाबजुद आयुषसँग थियो त मात्र सिक्ने जुनुन । लेकसाइड घर भएका आयुषले अन्तत युट्युबलाई गुरु बनाए र पाराङ्गत भए।

आयुषले कक्षा ७ मा पढ्दा पहिलोपटक बिटबक्स बारेमा इन्टरनेटमार्फत् थाहा पाएको स्मरण गरे । त्यतिबेलादेखि नै उनको दिलमा बसेको थियो बिटबक्स । सन् २००७ तिर युट्युबमा पनि त्यति धेरै बिटबक्सका भिडियो उपलब्ध थिएनन्।

‘खाने मुखलाई जँुगाले छेक्दैन’ भने जस्तै आयुषलाई साना अवरोधले अघि बढ्ने मार्ग छेक्न सकेनन् । अहिले आयुषमात्र पोखराका एक कुशल बिटबक्सर हुन्, जसले काठमाडौंमा आफ्नो समेत अब्बल पहिचान बनाएका छन् । युवा पुस्तामा निकै लोकप्रिय बनेको बिटबक्सको दुनियाँमा आयुषले आफ्नो निकै राम्रो भविष्य देखेका छन् । ‘बिटबक्स गर्न लागेको करिब ६ वर्ष भयो,’ आयुषले सुनाए, ‘इन्टरनेटबाट हेरेर सिक्दाको पीडा छुट्टै थियो, सही–गलत आफै छुट्याउनुपर्थ्यो।’

त्यसबेला घरछेउमा बस्ने अर्जुन गौतमले बिटबक्स सिकिरहेको देखे र उनीपनि त्यहाँ सिक्न पुगे । ‘हुन त अर्जुन दाइ पनि सिक्दै हुनुहुन्थ्यो र मलाई केही टिप्स दिनुभयो, त्यसैको आधारमा अघि बढ्ने प्रेरणा मिल्यो,’ उनले थपे।

त्यसबेला आयुषलाई केही फरक कुरामा मात्र रुचि थियो । ‘बिटबक्स मात्र नभएर बिबोइङ र स्केटबोडिङ गर्नुका साथै राष्ट्रिय प्रतियोगितामा भाग पनि लिएँ,’ उनले सुरुआती क्षणसुनाए, ‘तर समयसँगै सबै छाडेँ, बिटबक्सलाई मात्र अंगालेँ।’

त्यसबेला आफूले रोजेको बाटो निकै कठिन रहेको उनी बताउँछन ।‘त्यो बेलामा म एक जना मात्र बिटबक्सर थिएँ,’ उनले भने, ‘सिक्ने र सिकाउने पनि म मात्र थिएँ।’

साथीहरू उनको कला देखेर अच्चम मान्थे । ‘बिटबक्सको बारेमा धेरै अन्जान थिए तर सुन्न र हेर्न खुब रुचाउथे,’ उनले सम्झिए, ‘साथीहरूमाझ बिटबक्स गर्थें, उनीहरू अचम्म पर्थे ।’ एक–दुई ठाउँमा कला देखाएपछि आयुषको माग बढ्दै गयो । ‘विस्तारै मलाई कार्यक्रममा बोलाउन थाले,’ उनले भने, ‘त्यसपछि मैले अन्य साथीभाइलाई पनि सिकाउन थालेँ ।’ उनलाई सिकाउन गाह्रो भएन किनकी आफूमा मात्र सीमित ज्ञान अरुलाई बाँड्ने उत्कट चाह उनमा थियो।

एकदिन नेपालको पहिलो बिटबक्सर काठमाडौंका निशान्त गौचनलाई पोखरामा भेटर बिटबक्सबारे उनले थप ज्ञान लिए । त्यतिबेला नेपालमा १० जना जति बिटबक्सर थिए । त्यसपछि आयुषलगायतले ‘बिटबक्स नेपाली कोलोनी’ नामक समूह गठन गरे । त्यो समूहले ठाउँ–ठाउँमा इन्टरनेटमार्फत् बिटबक्स प्रतियोगिता आयोजना गरेको आयुषले बताए । ‘विस्तारै पोखरामा पनि गर्ने सोच बनाएका छौं,’ उनले भने, ‘अहिले करिब २ सय बिटबक्सर छन् ।’ नेपालमा बिटबक्सको विकासका लागि ‘सुइस बिटबक्स’, ‘बिटबक्स ब्याटल टिभी’र ‘ह्युमन बिटबक्स डटकम’ जस्ता अन्तर्राष्ट्रिय बिटबक्स संस्थासँग कुरा भइसकेको आयुष बताउँछन् । उनीहरूसँगको सम्बन्धले विस्तारै नेपाली बिटबक्सर पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने बाटो खुल्ने उनको विश्वास छ।
….
के हो बिटबक्स ?
बिटबक्स म्युजिक क्षेत्रमा आएको नयाँ कला हो । म्युजिकल उपकरणको आवाज मुखले नक्कल गर्नुलाई बिटबक्स भनिन्छ र नेपालीमा यसलाई मुखेबाजा पनि भन्न सकिन्छ।

बिटबक्सको सुरुवात् सन् १९८० तिर अमेरिकामा भएको हो । त्यो बेला ड्रम मेसिनलाई बिटबक्स भनिन्थ्यो र त्यो मेसिन महँगो पर्ने हुनाले एकाधसँग मात्र हुन्थ्यो । विस्तारै यसका अनुरागीले यसको मुखले नक्कल गर्न सुरु गरे । यसरी ह्युमन बिटबक्स सुरुवात भयो । अहिले ह्युमन बिटबक्सलाई नै बिटबक्स भनिन्छ । विश्वको पहिलो बिटबक्सर अमेरिकाका डोउग इ फ्रेस हुन् । यसमा ओठ, घाँटी र स्वासको मुख्य भूमिका हुन्छ।





Comments

comments

Leave a Reply

16664