बेलायतका कविको पुस्तक विमोचित …

काठमाडौँ, नेपाली साहित्य विकास परिषद् यूकेका वरिष्ठ सह–अध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लको कविता सङ्ग्रह ‘म के लेखूँ ?’ को शुक्रवार लोकापर्ण भएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा सम्पन्न समारोहमा प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले बाहिर बसेर आफ्नो व्यस्त जीवनबाट सिर्जनालाई समय र ठाउँ दिनु प्रशंसनीय कुरा हो भन्दै बेलायतमा रहेका साहित्यकारहरूबाट राम्रा कृतिहरू प्रकाशित भइरहेकोमा खुशी व्यक्त गरे। बेलायत र नेपालमा खुलेका साहित्यिक संस्थाहरूबाट दुई देशका साहित्यकारकाबीच साहित्यिक आदान प्रदान, सहकार्य र अन्तरक्रिया यसरी हुनु नेपाली साहित्यको विकासका लागि महत्वको विषय हो उनले भने।

नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरकी अध्यक्ष इल्या भट्टराईले नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरले धेरै राम्रा काम गरेको कुरामा प्रकाश पार्दै कोमलको यो लोकापर्ण कार्यक्रमलाई पनि हामीले एउटा अवसरको रूपमा लिएको बताइन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, उप–कुलपति र कवि मल्लका दाजुत्रय शक्ति, महेन्द्र र मुक्तिका साथै शिव कुमार श्रेष्ठबाट लोकापर्ण भएको उक्त पुस्तकमाथि समालोचक प्राध्यापक महेश पौड्याल विशद समीक्षा गर्दै “म के लेखू”ँ कविता सङ्ग्रहले भाव र भूभिबाट संवेदनशील अर्थ बोकेको चर्चा गरे।

बेलायतमा रहने कोमलको पुस्तकबाट नेपालको आवाज आएको छ, यहाँ नेपाल उपस्थित छ । पुस्तकमाथि आफ्नो मन्तव्य प्रस्तुत गर्दै कवि गोपाल पराजुलीले कोमलको कविता सङ्ग्रह न्यायधीशको फैसला, देशभक्तको प्रतिवेदन र आशुकविको निवेदन रहेको बताए । कवि कोमल मल्लले आफ्नो कवि जीवनको पृष्ठभूमि प्रस्तुत गरेका थिए भने सभामा प्राज्ञ डा. ज्ञानु पाण्डे, शक्तिप्रसाद श्रेष्ठ, हरिशरण लामिछाने, डा. रेणुका थापा आदिले कोमलको कवितालाई छुँदै कविलाई शुभकामना दिएका थिए।





Comments

comments

Leave a Reply

17701