उधारोमा अप्राकृतिक यौनसम्पर्क, पैसा नदिएपछि हत्या

काठमाडौं, वैशाख ९ – सेन्ट जेभियर्स सामाजिक सेवा केन्द्रका संयोजक अमेरिकी नागरिक फादर थोमस ई ग्याफ्नेको हत्याका आरोपित १८ वर्षपछि पक्राउ परेका छन्। थोमसको ललितपुर झम्सिखेलस्थित डेरामा २०५४ मंसिर २८ गते राति खुकरी प्रहार गरी हत्या भएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले लामो अनुसन्धानपछि दोलखा फस्कुका गोकुल भनिने ढालबहादुर खड्कालाई सोमबार काँकडभिट्टास्थित नेपाल-भारत सीमाबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले भने, ‘काम गरेबापत पैसा नदिएपछि रिसको झोकमा थोमसको हत्या गरेको बयान खड्काले दिएका छन्।’

६५ वर्षीय थोमसले पैसा दिन्छु भन्दै आफूलाई पटकपटक अप्राकृतिक मैथुन गर्न लगाएको बयान खड्काले दिएका छन्। ‘मलाई पैसा दिन्छु भन्दै सातामा तीनपटकभन्दा बढी अप्राकृतिक मैथुन गर्न लगाउँथ्यो।

आज दिन्छु भन्थ्यो, भोलि दिन्छु भन्थ्यो तर पैसा दिएन अनि मारिदिएँ’, खड्काले भनेका छन्। घटनाका दिन खड्का राति आठ बजे थोमसको कोठामा पुगेका थिए।

मार्ने मनसायले नै उनको कोठामा पुगेका खड्काले साथमा लगेको खुकुरी लुकाएर राखेका थिए। खड्काले राति साढे १० बजेसम्म थोमससँगै कफी खाई पैसा मागेका थिए।

तर उनले पैसा नदिएको झोकमा लुकाएको खुकुरी ल्याएर छप्काई दराजमा रहेको २२ हजार रुपैयाँ लिई फरार भएको बयान पनि खड्काले दिएका छन्।

हत्यापछि खुकुरी घटनास्थलमै छाडेर रगत लागेको कपडा कालोपुलस्थित खोलामा फालेर खड्का भोलिपल्ट इटहरी हुँदै काँकडभिट्टा पुगी सिक्किम गएर बसेका थिए। कालीमाटीमा थोमसको हत्या भएको समाचार सुनेपछि पक्राउ पर्ने डरले आफू भागेको उनले बताएका छन्।

प्रहरीले घटनाबारे अनुसन्धानका लागि खड्कालगायत २४ जनासँग सोधपुछ गरेको थियो। खड्कालाई सिन्धुपाल्चोकका मानबहादुर भण्डारीले थोमससँग भेट गराएका थिए। थोमससँग भेट भएपछि भण्डारी र खड्का धेरैजसो थोमसकै कोठामा बस्ने र खानपिन गर्ने गर्थे।

थोमसको हत्याबारे अनुसन्धानका लागि ११ वटा छानबिन टोली गठन भएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ। महाशाखामा दरबन्दी हुँदा डीएसपी देवेन्द्र पालले थोमस हत्याको अनुसन्धान फाइल ललितपुर परिसरबाट महाशाखामा ल्याई अगाडि बढाएका थिए।

महाशाखा प्रमुख एसएसपी कार्कीले अनुसन्धान टोली गठन गरेर सुराकी परिचालन गरेका थिए। पाल अहिले महानगरीय प्रहरी वृत्त जगातीमा छन्।

२०१५ सालमा नेपाल प्रवेश गरेका थोमसले थुप्रै सामाजिक काममा हात हालेका थिए। सुरुमा ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलमा पढाउने गरेका उनले २०२६ सालमा जेभियर्स सामाजिक केन्द्र स्थापना गरी निर्देशक बनेका थिए।

प्रहरी अनुसन्धानमा ग्याफ्नेले २०४१ सालमा नेपाली नागरिकतासमेत लिएको खुलेको छ। उनले सातदोबाटोमा मुक्ति केन्द्र, नखिपोटमा अन्धा क ल्याण केन्द्र र नि:शुल्क प्राथमिक उपचार केन्द्रमा समेत काम गरेका थिए।

महाशाखा प्रमुख कार्कीले भने, ‘उनको हत्या गरी फरार भएका खड्का गर्भवती पत्नीलाई छाडेर सिक्किममा पुगेर मजदुरी गरी बसेका थिए।

विशेष सूचनाका आधारमा महाशाखाको टोली पुगेर काँकडभिट्टबाट पक्राउ गर्न सफल भएको हो।’

१८ वर्षको अवधिमा आफू दुईतीनपटक मात्रै नेपाल आएको बयान खड्काले प्रहरीलाई दिएका छन्।





Comments

comments

Leave a Reply

5916