यसरी हुदैछ एमाले र एमाअोवादीबीच सत्तासाझेदारी

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रमुख भूमिका खेलोको एमाओवादीले सत्तासाझेदारीको क्रममा उपराष्ट्रपति, सभामुख, उपप्रधानमन्त्री तथा गृहसहितका मन्त्रालय लिने भएको छ । राष्ट्रपति र अर्थसहितका मन्त्रालय एमाले आफैंले राख्ने भएको छ।

आइतबार साँझसम्म भएको एमाले र एमाओवादीका शीर्ष नेताबीचको छलफलमा प्रमुख पदहरुमा अनौपचारिक सहमति बनेको हो ।‘यी पदहरुमा दुई पार्टीहरुबीच करिब–करिब सहमति बनिसकेको छ,’ स्रोतले भन्यो।

दुई पार्टीबीच अन्य कति–कति मन्त्रालय भागबन्डा गर्ने र कुन–कुन मन्त्रालय लिने भन्ने पनि अन्तिम टुंगो लागिसकेको छैन । तर, एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले सत्ताको अन्य भागबन्डाबारे कुनै निर्णय नभएको बताए । ‘प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीले जितिहाल्नुभयो, सत्तासमीकरणको अन्य विषयमा कुनै सहमति भएको छैन,’ उनले भने, ‘भोलिसम्म टुंगिएला।’

अर्थ मन्त्रालयको जिम्मा एमाले उपमहासचिव विष्णु पौडेलले सम्हाल्ने निश्चित भइसकेको स्रोतले बतायो । ‘अर्थ मन्त्रालय हाम्रै पार्टीले राख्ने र विष्णु पौडेलले नेतृत्व गर्ने विषय टुंगो लागिसकेको छ,’ एमालेका एक शीर्ष नेताले भने।

एमाओवादीबाट सरकारको नेतृत्व टोपबहादुर रायमाझीले गर्ने करिब निश्चित भएको एमाओवादी स्रोतले बतायो । उनले गृहसहित उपप्रधानमन्त्रीको जिम्मा सम्हाल्नेछन् । रायमाझी यसअघि भौतिक र स्थानीय विकास मन्त्री भइसकेका छन्।

प्रधानमन्त्रीमा एमालेलाई सघाएको राप्रपा नेपाललाई उपसभामुखसहित तीन मन्त्रालय दिन एमाले र एमाओवादी तयार भएका छन्। एमालेबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारी, झलनाथ खनाल र सुवास नेम्वाङको चर्चा छ। सभामुखमा भने एमाओवादीका महासचिव कृष्णबहादुर महरालाई पठाउने तयारी एमाओवादीले गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

9048