९४ वर्षीया स्रष्टा पुण्यरश्मिको जीवनी, यस्तो छ उनको कारुणिक कथा…

पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग
पुण्यरश्मिको कारुणिक कथा

नरेन्द्रराज प्रसाई –

पुण्यरश्मि सानैदेखि नरम, सरल र सहज थिइन् । उनको लगनशीलताबाट उनका बुबाआमा पनि प्रसन्न हुन्थे । नेपालका पहिला एम.बी.बी.एस. डा.सिद्धिमणि आचार्य दीक्षित र हेमप्रभा आचार्य दीक्षितकी छोरी पुण्यरश्मिको जन्म संवत् १९८० जेठ ५ गते शुक्रबार काठमाडौंको डिल्लीबजारमा भएको थियो । आमाबुबाले दिएको सुखसयलमा यिनको बाल्यकाल बितेको थियो । त्यति बेला यिनका बुबा श्री ३ राणाका पनि चिकित्सक भएकाले राणाहरू औषधी उपचार गर्न भारतको दिल्ली, कोलकाता जाँदा दीक्षित पनि सँगसँगै जाने गर्थे । त्यसैले त्यहाँबाट ल्याएका खानेकुरा र लाउने कुराबाट सानैदेखि पुण्यरश्मि परिचित थिइन् ।

पुण्यरश्मिलाई आफ्ना बुबाद्वारा अरू दाजुभाइसरह पढाइ र खेलकुदमा समान रूपमा सहभागी गराइएको थियो । व्यायाममा पनि उनलाई अरू छोरासरह कट्टु र बाहुले चोलीमा सक्रिय बनाइएको थियो । त्यतिमात्र होइन; त्यस जमानामा नारीहरू शिक्षाबाट वञ्चित हुने परिस्थिति भए तापनि पुण्यरश्मिलाई घरैमा शिक्षक राखी प्राथमिक शिक्षा प्रदान गरिएको थियो ।

त्यस कालमा ब्राहृमणकुलमा रजस्वला हुनुभन्दा पूर्व नै छोरीको बिहे गर्नु पर्ने अनिवार्य परम्परा थियो । त्यसैले पुण्यरश्मिको पनि बाह्र वर्षको उमेरमा कोलकाता निवासी अठार वर्षीय गोपीनाथ खतिवडासँग विवाह गरिएको थियो । पुण्यरश्मिसँग गोपीनाथ खतिवडाको बिहेका लागि पहल गर्ने व्यक्ति थिए तोयराज जोशी । जोशी डा.सिद्धिमणि दीक्षितका घनिष्ठ मित्र थिए । राणाको विरोध गरेकाले सोही अभियोगमा खतिवडा परिवारलाई चारपाटे मुडेर जनै चुँडाली देशनिकाला गरिएको थियो । त्यसैले तिनीहरूलाई नेपाल छिर्न अनुमति थिएन । तर बिहेको कारण खुलाई निश्चित पन्ध्र दिनसम्मका लागि भनेर उनीहरू नेपाल आएका थिए ।

पुण्यरश्मिले बिहे गरेको ३ वर्षा छोरा पाइन् । राजेन्द्र खतिवडा जन्मँदा उनी पन्ध्र वर्षकी थिइन् । पहिलो छोरो जन्मेको दुई वर्षपछि उनले फेरि देवेन्द्र पाइन् ।

लेखक

पुण्यरश्मिको घर काशीमा पनि थियो, कोलकातामा पनि थियो र बिहारको सहरसामा पनि थियो । आफ्ना पतिका साथ यिनी बारम्बार ती ठाउँमा पुग्ने गर्थिन् । ती ठाउँहरूमा यिनका हितैषी कम्पनी नामक किताब दोकानहरू थिए । त्यति बेला ती दोकानहरू तीती ठाउँका पुस्तक पसलहरूमध्ये नाम चलेका थिए । उनीहरूले त्यो रमाइलो जीवन भोग्दाभोग्दै पुण्यरश्मिका ससुरा र दुवैजना जेठाजुको निधन भयो । त्यसपछि कोलकाताको हितैषी कम्पनीचाहिँ तुरुन्तै बन्द भयो । ससुरा र दुई जेठाजुको निधनपछि पुण्यरश्मिहरू काशीमा बस्न थाले ।

पुण्यरश्मि पढ्न भनेपछि मरिमेट्थिन् । त्यसैले यिनले आफ्ना पतिको प्रेरणा र आफ्नै इच्छा मिसाएर इलाहाबाद बोर्डबाट प्राइवेट परीक्षा दिई म्याटि्रक पास गरिन् । त्यति बेला यिनले स्कुलकलेज नगई आफ्ना पतिले ल्याइदिएका किताब पढेर म्याट्रिक, आई.ए. र बी.ए. प्राइवेट परीक्षार्थीकै रूपमा पास गरेकी थिइन् । त्यसपछि उनलाई पढ्ने रुचि झनै जाग्यो । परिणामस्वरूप उनले बनारस हिन्दू विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एम.ए. उत्तीर्ण गरिन् ।

नेपालमा २००७ सालको प्रजातन्त्र आएपछि पुण्यरश्मिको परिवार गदगद थियो । खास गरेर यिनीहरूको सम्बन्ध श्री ५ त्रिभुवनसँग पनि गाँसिएको थियो । साथै विश्वेश्वरप्रसाद कोइरालासँग पनि यिनीहरूको घनिष्ठ सम्बन्ध थियो । वास्तवमा कोलकातामा बस्ता कोइराला र गोपीनाथ खतिवडाको खुबै मिल्ती थियो ।

२०१५ सालपछि विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए । त्यस घटनापछि गोपीनाथ खतिवडाले आफ्नी धर्मपत्नी पुण्यरश्मिलाई भने “अब म नेपाल गएर विश्वेश्वर बाबूलाई भेट्छु र स्कुलका पाठ्यपुस्तक छाप्ने सम्बन्धी कुरा गर्छु ।” त्यसैअनुरूप खतिवडा नेपाल आए र त्यसपछि उनले कोइरालालाई सबै कुरा भने । कोइरालालाई खतिवडाको कुरा चित्त बुझयो । कोइरालाकै निर्देशनमा उनले काठमाडौं आएर सर्वप्रथम पाठयपुस्तक प्रकाशन संस्था खोले र नाउँ राखे ‘नयाँ नेपाल प्रकाशन’ । अनि उनले आफ्नो घरको सम्पूर्ण धन प्रकाशन गृहमा लगाए । साथै त्यस गृहमा खतिवडाले बनारसको कृष्णचन्द्र बेदीको हिन्दी प्रचारक प्रकाशनसँग साझेदारी पनि गरे । त्यसपछि ‘नयाँ नेपाल प्रकाशन’ आर्थिक कारणले झनै ठूलो भयो । त्यसपछि यिनीहरूले नेपाल भरिका कक्षा एकदेखि आठसम्मका पाठयपुस्तक छाप्न थाले ।

पुण्यरश्मिका पतिले नेपालमा सशक्त रूपमा प्रकाशनसम्बन्धी काम गर्न थाले । देशभरि ‘नयाँ नेपाल प्रकाशन’ का सम्पूर्ण पाठयपुस्तक लागू भए । किताबहरू धमाधम विद्यार्थीमाझ बिक्न थाले । पुण्यरश्मिको सपना बिपना हुन थाल्यो । अकल्पनीय ढङ्गबाट प्रकाशन गृहले ठाउँ ढाक्न थाल्यो । त्यस बेला यिनीहरूको आर्थिक हैसियत दिन दुई गुना र रात चार गुनाले फैलिएको थियो ।

२०१७ सालमा विश्वेश्वरप्रसाद कोइराला पक्राउ परे । त्यो घटना घट्नासाथ खतिवडाका साझेदार कृष्णचन्द्र बेदीले अब आफ्नो प्रकाशन संस्था नोक्सानमा पर्ने सम्भावना भएको बुझे । अनि उनले ‘नयाँ नेपाल प्रकाशन’ बाट आफ्नो हात झकिे । राजनैतिक परिवर्तनका साथै ‘नयाँ नेपाल प्रकाशन’ का सम्पूर्ण पाठयपुस्तक पनि स्कुलका पाठयक्रमबाट झिक्न थालियो । त्यसैले उक्त संस्था एक्कासि डुब्न थाल्यो । वास्तवमा त्यसपछि पञ्चायती व्यवस्था अन्तर्गतका किताबहरू प्रकाशन हुन थाले । त्यसैले त्यति बेला ‘नयाँ नेपाल प्रकाशन’ का जम्मा एक सय सोह्र प्रकारका करिब एक करोड प्रति किताब खेर गए । त्यस काण्डले त्यति बेला पुण्यरश्मिको सर्वस्वहरण भएझैँ भएको थियो । फलस्वरूप यिनीहरू ऋणमा चुर्लुम्मै डुबे ।

त्यति ठूलो सङ्कट आएपछि गोपीनाथ खतिवडा आर्थिक, सामाजिक, शारीरिक र मानसिक रूपमा थला परे । ऋणमा डुबेको चिन्ताले उनी शारीरिक रूपमा पनि अस्वस्थ भए । चिन्ताका कारण मानसिक रूपमा पनि उनी अत्यन्तै पीडित भए । परिणामस्वरूप उनलाई पक्षाघात भयो । आफ्ना पतिलाई औषधी उपचार गर्न पुण्यरश्मिले ट्रकका ट्रक किताब पुरानो कागजका भाउमा जोखेर पनि बेचिन् ।

त्यति बेला पुण्यरश्मिलाई अत्यन्तै ठूलो विपत्तिले घेरेको थियो । त्यस आपतमा आफ्ना इष्टमित्रहरू समेत पनि खतिवडा दम्पतीसँग विपरीत भएका थिए । त्यति बेला यस भूगोलभरिमा पुण्यरश्मिका लागि एउटै नारी जीवित थिइन् । अथवा भनूँ पुण्यरश्मिलाई आइपरेको आपत उनकी सम्धिनी सुलोचना घिमिरेले देखेकी थिइन् । त्यसैले उनले सकेको मद्दत पनि गरिन् । तर त्यो सहयोग पनि आमाको लाम्टो चुसेको बालकलाई बाबुको घुँडा चुसेझैँ मात्र भएको थियो ।

पुण्यरश्मि आफ्ना पतिलाई डोर्‍याउँदै काठमाडौं आइन् । बाजे बराजुका पालादेखि बसेको बनारस छाडेर खतिवडा पनि बाँकी जीवन बाँच्न आफ्नी पत्नीका पछि लागे । त्यति बेला तिनीहरूसँग काठमाडौंसम्मको यातायात र रेलको भाडासमेत थिएन । आफ्नी सम्धिनीको सहयोगमा यिनीहरू काठमाडौं बसाइँ सरे । त्यति बेलासम्ममा यिनीहरूका दुवै छोरा पनि पेट पाल्न लाखापाखा लागिसकेका थिए ।

काठमाडौंमा आएपछि पनि पुण्यरश्मिहरूलाई खानेलाउने समस्याले गाँजेको थियो । घरको दयनीय आर्थिक अवस्थाका कारण पुण्यरश्मिले जागिर खोजिन् । करिब आठ वर्षबेरोजगार भएपछि यिनको प्रा. कृष्णराज अर्यालसँग भेट भयो । अर्याल त्यस बेला रत्नराज्यलक्ष्मी कलेजका प्रिन्सिपल थिए । पुण्यरश्मिले अर्यालको सौहार्दका कारण त्यही कलेजमा अङ्ग्रेजी पढाउने जागिर पाइन् । त्यसबाट उनलाई खान लाउन केही सहयोग पुग्न थाल्यो । प्राध्यापन पेसामा प्रवेश गर्दा उनी पैँतालीस वर्षी थिइन् ।

पुण्यरश्मिले रत्नराज्यलक्ष्मी कलेज पढाउन थालेपछि मदन स्मारक स्कुलमा पनि पढाउने मौका पाइन् । त्यति बेला उनी बासी रोटी खाएर बिहान पाँच बजे डेराबाट निस्की भृकुटीमण्डपको रत्नराज्यलक्ष्मी कलेज पुग्थिन् र त्यहाँ बिहान पढाएर दिउँसो पाटनको मदन स्मारक स्कुल पुग्थिन् । अनि उनी गलेर साँझ पाँचछ बजे डेरामा पुग्थिन् । २०३० सालमा उनका श्रीमानको स्वर्गारोहण भयो, अनि उनले मदन मेमोरियल स्कुलमा पढाउन छोडिन् । नयाँ शिक्षा लागेपछि रत्नराज्य कलेज त्रिभुवन विश्वविद्यालयमा गाभियो र उनको सेवा पनि स्थायी भयो । उनले यी ठाउँमा पढाएको केही वर्षछि डिल्लीबजारको कन्या क्याम्पसमा पनि पढाइन् ।

पुण्यरश्मि सङ्घर्षकी एउटी विम्ब बनिन् । सङ्घर्ष नै उनको एउटा गतिलो साथी बन्यो । उनी आफ्नो सङ्घर्षमा चेप्टिरहेकै बेला उनका पति स्वर्गीय भए । त्यसपछि उनका कान्छा छोरा देवेन्द्र र जेठा छोरा राजेन्द्र पनि स्वर्गीय भए । दुवै छोराको मस्तिष्क रक्तस्रावका कारणले अकस्मात् स्वर्गारोहण भएको थियो ।

पुण्यरश्मि २०२६ सालदेखि मात्र लेखरचनामा झुल्केको नाउँ हो । त्यसबखत उनका भाइ डा. हेमाङ्ग दीक्षित ‘यति डाइजेष्ट’ का सम्पादक थिए । आफ्नो भाइको आग्रहमा उनले ‘यति’का लागि लघुकथा लेख्न थालिन् । उनले सो पत्रिकामा छसातवटा कथा लेखिन् । त्यसपछि सो पत्रिका बन्द भयो; अनि उनको कलम पनि बन्द भयो ।

पुण्यरश्मिले कन्या क्याम्पस पढाएताका त्यहाँ ‘रत्नश्री’ द्वैमासिकका सम्पादक मदनदेव भट्टर्राई पनि पढाउँथे । तिनै भट्टर्राईको जोडले उनले फेरि साहित्यरचना गर्न थालिन् । भट्टराईको सौहार्दले ‘रत्नश्री’ मा यिनका धेरै लेखरचना र कथाहरू छापिए । त्यसपछि यिनले साझा प्रकाशनका शङ्कर कोइरालालाई भेटिन् । अनि कोइरालाका आग्रहमा यिनले लघुनाटक लेखेर साझा प्रकाशनलाई दिइन्; त्यो साझाले नै छाप्यो । त्यसपछि पुण्यरश्मिलाई लेखनमा झनै जोस चल्यो र उनी सुपारी चपाउँदै थप लेख्ने काममा पनि व्यस्त हुन थालिन् । उनी सुपारीको अम्मली थिइन् । उनी सानैदेखि सदैव सुपारीप्रेमी भइरहिन् । जतिसुकै कष्ट आइपरे तापनि यिनले मुखबाट चाहिँ कहिल्यै सुपारी निकालिनन् । यिनका कृतिहरू प्रकाशनमा आइरहन थाले । त्यसैबीच यिनले साढे चार वर्ष लगाएर वसन्त शर्मा नेपालद्वारा लिखित ‘शब्दसागर’ नामक शब्दकोशको अङ्ग्रेजीमा अनुवाद पनि गरिन् ।

पुण्यरश्मिले नेपाली साहित्यमा जति गरिन् धेरै गरिन् । यिनले अङ्ग्रेजी पढे तापनि र्सार्वजनिक रूपमा नेपाली भाषासाहित्यको नै सेवा गरिरहिन् । यिनले फुटकर लेखरचना र कथाबाहेक जम्मा ८वटा पुस्तकहरू लेखिन् । उनका कृतिहरू हुन्; केही लघुनाटक (२०४५), जयन्तजुनू (उपन्यासः२०५१), अक्लान्त (उपन्यासः२०५२), मेरो परिचय (आत्मकथाः२०५७), अपूरो अभिलाषा (उपन्यासः२०५९), अप्रचलित सत्य (कथासङ्ग्रहः२०६०), बीपी बाबुको उपन्यास (समालोचना), मेरी वृन्दा यस्तै भई (कथासंङ्ग्रह), धर्मान्ध (कथासंङ्ग्रह : २०७१) ।

पुण्यरश्मि शिक्षासेवाको एउटा ज्वलन्त नाउँ बन्यो । यिनले बत्तीस वर्षरत्नराज्यलक्ष्मी क्याम्पसमा मात्र पढाइन् । साथै यिनी नेपाली भाषासाहित्यकी एउटी प्रेरक व्यक्तित्व बनिन् । पुण्यरश्मि जसरी साहित्य सृजना गर्छिन् त्यस्तै साधारण रूपमा उनले जीवन भुक्तान गरिन् । कुनैबेला उनको सपना बिपना थियो भने पछिपछि उनको बिपना सपनामा रूपान्तर भयो । आर्थिक रूपमा जति नै थेचारिए तापनि उनी कहिल्यै आत्तिइनन् । उनी कहीँ गएर रोइनन् र कसैको शरणमा पुगिनन् । उनी आत्मस्वाभिमान बोकेरै सङ्घर्षमा नै बाँचिन् । उनको परिभाषामा बाँच्नुको अर्थ नै सङ्र्घष्ा बन्यो । सङ्घर्षै सङ्घर्षमा पनि उनले साहित्य रचिरहिन् । जीवनको परिभाषा यिनले उपन्यासमा लेखिन्, कथामा लेखिन् र निबन्धमा पनि लेखिन् । त्यसैले यिनी नेपाली भाषासाहित्यमा नअस्ताउने तारा बनिन् । यिनी गुणकी धनी र धर्ैयकी देवी बनिन् ।

पुण्यरश्मि मानवीय रचनाकी एउटी नमुना हुन् । कसैसँग जोरी खोज्ने, कसैलाई होच्याउने र कसैप्रति घृणा गर्नेहरूले पुण्यरश्मिसँग सङ्गत गर्‍यो भने उसले आफू भीरबाट चिप्लेको अनुभूति ग्रहण गर्छ; किनभने पुण्यरश्मिसँग जो कोही डुक्य्रो भने पनि उनी लत्रेर नै हिँड्ने गर्छिन् । सानी भएर नै उनले प्रौढ अवस्था पार गरिरहेकी छिन् ।

पुण्यरश्मिले आफ्नो सृजनात्मक कला अर्पित गरेर भानुभक्त पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, विश्वनारी नेपाली साहित्य सम्मान, विश्वनारी नेपाली साहित्य पदक र सीताराम पुरस्कार पाइन् । उनले जतिजति पल्ट पुरस्कार पाउँदै जान्थिन् उतिउति उनी आफ्नो सृजनात्मक योगदान र्सार्थक भएको ठान्दै जान्थिन् ।

[email protected]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12662