राधा पौडेललाई मदन पुरस्कार

काठमाडौं/ राधा पौडेलको संस्मरण कृति ‘खलंगामा हमला’ले ०७० को मदन पुरस्कार प्राप्त गरेको छ। आइतबार सम्पन्न मदन पुरस्कार गुठीको साधारणसभाले दुई लाख राशिको पुरस्कार पौडेललाई प्रदान गर्ने निर्णय गरेको हो।

राधा पौडेल‘पुरस्कार प्राप्त गर्दा एकदमै खुसी छु। त्योभन्दा पनि बढी गौरव लागेको छ,’ पुरस्कृत भएको खबर पाएलगत्तै पौडेलले भनिन्, ‘पुस्तक लेख्दा शान्ति प्रक्रियामा योगदान गर्नुपर्छ भन्ने सोचका साथ अन्यायमा परेकाले न्याय पाउनुपर्छ भन्ने ध्येय राखेर लेखेकी थिएँ। मेरो सोच र ध्येय सार्थक थियो भन्ने प्रमाणित भएको छ।’

पुरस्कार प्राप्त गरेको खबर सुन्नासाथ आफूले जुम्ला र जुम्लाका साथीभाइलाई सम्झेको राधाले बताइन्। ‘मैले सबैभन्दा पहिले जुम्लालाई सम्झिएँ। युद्धकालमा जुम्लाको टुँडिखेलमा देखेका लास सम्झिएँ। जसले मलाई किताब नलेखिरहनै नसक्ने बनायो। त्यसपछि मैले मेरा बुबाआमालाई सम्झिएँ,’ उनले भनिन्।

राधा जुम्लामा ‘बेयर फुट डक्टर’का रूपमा कार्यरत रहेका वेला तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम खलंगा आक्रमण गरेको थियो, नयाँ पत्रिका दैनिकमा लेखिएको छ। २८ कात्तिक ०५९ मा भएको सो हमला उनले प्रत्यक्ष देखेकी थिइन्। त्यसको संस्मरणका साथै जुम्लाका जनताले द्वन्द्वका क्रममा भोगेका त्रासदीलाई उनले पुस्तकमा उतारेकी छिन्।

चितवनकी स्थायी बासिन्दा राधाले भनिन्, ‘मैले पुरस्कारको अपेक्षा गरेर लेखेकी थिइनँ। त्यो वेला भोगेको त्रासदी र देखेको दृश्यले भित्री मनमै चोट पर्‍यो। त्यसैले लेखेँ। पुरस्कार पाउँदा त्यस्तो चोट प्रतिनिधि घटना रहेछ भन्ने लागेको छ।’ भरतपुर अस्पतालमा एनेस्थेसियोलोजिस्टका रूपमा नियुक्त भए पनि चुनौती मोलेर पौडेल जुम्लामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ जुम्ला पुगेकी थिइन्।

राधाले पुस्तकको बिक्रीबाट प्राप्त रकम जुम्लामा शान्तिवाटिका निर्माणमा खर्च गर्दै आएकी छिन्। ‘मैले ०५९ मा पुस्तक लेख्दै शान्तिवाटिका बनाउँछु भन्ने कल्पना गरेकी थिएँ। त्यस योजनामा पहिलो पैसा मेरै पुस्तकको थियो। जसका लागि मेरा बुबा, भाइ, बहिनीले समेत पुस्तक किन्नुभएको थियो,’ उनले सम्झिन्। शान्तिवाटिकालाई अन्तर्राष्टिय शान्ति र प्रेमको केन्द्र बनाउने उनको सपना छ।

त्यसैगरी, मदन पुरस्कार गुठीले प्रदान गर्ने जगदम्बाश्री पुरस्कार अन्वेषक शिव रेग्मीलाई प्रदान गर्ने भएको छ। साहित्यिक पत्रकारिताको खोज–अन्वेषणमा योगदान पुर्‍याएकोमा उनलाई दुई लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ।

‘म कुनामा बसेर काम गरिरहेको मान्छे, पुरस्कृत भएको खबरले खुशी लाग्यो । आफूले गरेको कामको कदर भएको अनुभूति भएको छ।’ शिवले नयाँ पत्रिकासँग भने। आफूले सानैदेखि पाठ्यपुस्तकका साथै साहित्यका पुस्तक पढ्ने गरेको उनले सम्झिए।

‘त्यसैले साहित्यमा रस बस्यो । अध्ययन गरेका बिषयमा साहित्यिक टिप्पणी लेख्न थालें। अहिलेसम्म पनि साहित्यकै आराधनामा छु। जागिर खाँदा पनि बिहान–बेलुकी साहित्यिक टिप्पणी लेख्थें।’ उनले बताए।

नेपाली साहित्यिक इतिहासका ‘इन्साइक्लोपेडिया’ मानिने ७३ वर्षीय रेग्मीले नेपाली साहित्यका पुराना कृतिको संकलन, अध्ययन तथा अनुसन्धानमा
सक्रिय छन्।





Comments

comments

1454