यसकारण सेतीबाढीमा बढी क्षति भएको थियो

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा भदौ २९। २०६९ बैशाख २३ गते सेतीमा आएको बाढीबारे पोखरामा चर्चा गरिएको छ। बाढीले पुर्याएको क्षति र बाढी आउनुको कारणबारे यसका अध्ययनकर्ताले जानकारी दिएका छन्।

फाइल फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गत रहेको समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको कचहरीमा बोल्दै पृथ्वीनारायण क्याम्पसमा भूगोल विषयका प्राध्यापक खगेन्द्र पौडेलले बेलैमा सचेतना नअपनाउँदा सेतीको बाढीमा क्षति बेहोर्नु परेको बताए।

बेलैमा सचेतना नअपनाउँदा धेरैको ज्यान गएको हो उनले भने। उनका अनुसार बाढी आउनु केहीदिनअघि नै सेतीको मुहान क्षेत्रमा पहिरो झरेर नदी थुनिएको थियो। नदी थुनिँदा तल्लो भेगमा पानीको बहाव घटेको थियो भने पानीमा लेदो मिसिएको पाईएको थियो। उनले त्यत्ति नै बेला माथिबाट झरेको हिउँको ठूलो भागले बगाउँदा बाढी आएको बताए। पहिरोमा हिउँको थुप्रो बजारिएर बाढीको रुपमा परिवर्तन भएको उनले बताए।

पहिरोले सेती नदी थुनिदा तल्लो क्षेत्रमा पानीको बहाव घटेको पनि उनले बताए। पानीको तह घटेको बेलामा सचेतना अपनाएको भए यत्तिको क्षति नहुन सक्ने उनले बताए। बाढीमा २८ जनाको ज्यान गएको र अझै केहि वेपत्ता छन्। बाढीले खारपानीको तातोपानी बजारसहित आसपासका बस्तीमा असर पारेको थियो।

अर्का भुगोलविद् रामजी पोखरेलले पहिरोबारे सचेतना नअपनाउँदाको अवस्थामा धेरैले ज्यान गुमाउनुपरेको बताए। पानी घटेको संकेत पाएको अवस्थामा सचेतना अपनाएको भए यस्तो क्षति नहुने उनले बताए। भुगोल विषयका प्राध्यापक कृष्ण केसीले गम्भीरताका साथ लिएर बसोबासलाई सुरक्षित गर्नुपर्ने बताए। उनले सेतीको माथिल्लो भागमा अझै पनि खतरा रहेकोले थप सचेत हुनुपर्ने बताए।

केही विज्ञहरुका अनुसार अन्नपुर्ण चौथो शिखरभन्दा डेढ किलोमिटर दक्षिण करिब ६ हजार ८ सय मिटरमा अवस्थित धारको ३२ हजार वर्ग मिटर चट्टान र बरफ सहितको भाग झरेर सेतीमा अकल्पनिय बाढी आएको हो। माथिबाट झरेको बरफको ठूलो खण्ड करिब ५ हजार मिटरमा रहेको बरफसहितको ढलानमा बज्रन पुग्दा बाढी आएको विज्ञहरुको भनाई छ।

वर्षाको समयमा जनमानमा बाढिबाट हुने क्षतिबारे सचेत गराउन समाज विज्ञान केन्द्रले सेतीबाढीबारे चर्चा चलाएको केन्द्रका सदस्य सचिव देव क्षेत्रीले बताए। उनले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम संचालन गरिरहनले जानकारी दिए। केन्द्रले अहिलेसम्म चारवटा कचहरी र दुईवटा मिडिया चौतारी गरिसकेको छ।





Comments

comments

1432